ओलीलाई पूर्वमा के–के छन् अप्ठ्यारा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै गृहजिल्ला झापामा आधा दर्जनजति अप्ठ्याराले घेरेका छन् । जसमध्ये सबैभन्दा टाउको दुखाइको विषय बनेको छ, दमकमा ठडिएको भ्यु टावर । दमकबासी भन्छन्, ‘यदि मिल्थ्यो भने केपी शर्मा ओलीले एकै रातमा दर्जनौं डोजर लगाएर सम्याउने थिए ।’ हुन पनि १ अर्ब ८० करोडभन्दा बढी लागतमा त्यो भ्यु टावर बन्दै गर्दा सो ठाउँमा घडेरीको दाम बढाउनेबाहेक केही काम भएन । अहिले भ्यु टावर भूतबंगलाजस्तै अवस्थामा छ । छेउछाउका क्षेत्र उराठलाग्दा छन् । धरहरा बनाएर भीमसेन थापाले नाम राखेजस्तै टावर बनाएर आफ्नै नामको महिमा गाउने वातावरण सिर्जना गर्न निर्माण गरिएको भ्युटावर अहिले उनको बदनामीको सर्वाधिक ठूलो कारक बनेको छ ।
ओलीले आफ्नो टाउकोबाट त्यो अवगाल पन्छाउन दमक नगरपालिकालाई टावर जिम्मा दिन खोजेका छन् । तर त्यो अनावश्यक गाँड झुण्ड्याउने पक्षमा दमक नगरपालिका देखिएको छैन । दमक नगरपालिकाले त्यसको जिम्मा लेओस् पनि कसरी ? न त्यो सञ्चालनको टिओआर बनेको छ न त त्यत्रो ठूलो परियोजनाको कुनै गुरुयोजना अर्थात् माष्टर प्लान नै छ ।
त्यसैगरी, ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा साह्रै गाह्रो पारेको छ, रतुवाको बगरमा निर्माण गर्ने भनिएको २२०० बिघा क्षेत्रफलको नेपाल–चीन औद्योगिक पार्कले । नेपाल– चीन औद्योगिक पार्कको नाममा निर्माण हुने भनिएको करिडोरको लागत २ खर्बभन्दा बढी अनुमान गरिएको छ । जसका लागि नेपाल सरकारले काम गर्नुपर्ने १४०० बिघा जमिन अधिग्रहण भइसकेको छ । सो क्रममा ओलीको आफन्त दावा गर्ने गोविन्द थापाले देखाएको ताण्डवका कारण त्यहाँका आदिवासी जनजाति र जग्गा अधिग्रहणमा परेका मानिसले बोल्न सक्ने स्थिति छैन । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा फैलिएको उक्त औद्योगिक ग्रामले सो क्षेत्रको आर्थिक कायापलट नै गर्छ भन्ने गीत धेरैपटक केपी ओलीले रतुवा बगरमा गाए । सि जिनपिङ नै दमक आउँछन् भन्नेदेखि लिएर उनी चढेर आउने रेलको बाटो यताबाट पर्छ भन्नेसम्मका सपना धेरैपटक बाँडिए । तर अहिले औद्योगिक कोरिडोर निर्माणको कार्य कहाँ पुग्यो भनेर जवाफ दिने कोही भेटिँदैनन् । आफूलाई ओलीकै अर्को स्वरूपका रूपमा प्रस्तुत गर्दै हिँड्ने गोविन्द थापा ओलीको महिमा गान गाउने एउटा अनलाइन चलाएर काठमाडौँतिर कुदिरहेका छन् । उनीहरूले चिनियाँलाई के के भनेर ढाँटे, कस्ताकस्ता कुरा गरेर भुल्याए भन्ने कथाको पाटो बेग्लै छ । जे होस्, नेपाल–चीन औद्योगिक ग्रामको उद्घाटन गर्दाका तस्बिर अहिले पनि दमकबासीले सम्झिरहेका छन् । र, जग्गा अतिक्रमणमा परेकाहरू त्यसको जवाफ माग्ने योजनामा लागिरहँदा ओलीलाई अप्ठ्यारो परिरहेको छ ।
ओलीलाई उनकै गृह जिल्लामा परेको अर्को अप्ठ्यारो हो, गिरिबन्धु टि इस्टेट काण्ड । हुन पनि ओलीले भूमाफियाहरूको प्रभावमा परेर ठूलो गल्ती गरेका थिए । जसलाई स्वीकार गर्नुको साटो आफूले प्रधानमन्त्री पदबाट हट्दा हट्दै गिरीबन्धुको जग्गा सट्टापट्टा अनुमती दिनेगरी क्याबिनेटमार्फत गरेको निर्णय र भूमि ऐनको संशोधन सही थियो भन्ने प्रमाणित गर्न लागि परेका छन् । जसले उनलाई झन्भन्दा झन् बदनाम गर्ने पक्का छ । गिरिबन्धु प्रकरणले गर्दा अहिले केपी ओली खुलेर आफ्नो गृह जिल्ला नै जान सकिरहेका छैनन् । बीचमा एकपटक एमाले केन्द्रीय कमिटीको बैठक दमकमा गर्ने योजना बनेको थियो । तर, अन्ततः त्यो पनि यस्तै कारणहरूले गर्दा भएन । यसरी उनी झापामा केन्द्रित भएर अघि बढ्न नसक्नुको कारण भनेको गिरिबन्धु प्रकरण पनि हो ।
त्यसबाहेक अर्को एउटा काण्ड छ जसले दमकमा नै उनलाई अप्ठ्यारो पारिरहेको छ । त्यो केपी ओलीले धर्मपुत्र, धर्मभाइ या जे भनेपनि सोही रूपमा दमकको जिम्मेवारी सुम्पिएर अघि बढाएका पूर्वमेयर रोम ओलीको छोराले गरेको ठगी काण्ड हो । ओलीका छोराले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट तीन करोड रूपैयाँ उठाएर भागेका छन् । लगभग तीन वर्षअगाडि नै उनको नाममा पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । तर प्रहरीले अहिलेसम्म पक्राउ गर्न भने सकेको छैन । यो प्रकरणमा ठगलाई केपी ओलीले जोगाएको र लुकाएर राखेको भन्ने आरोप छ । केपी ओली झापा जाँदा बस्ने भनेकै रोम ओलीसँग नै हो । अमेरिका पठाइदिने भन्दै गरिएको अर्को ठगी प्रकरण, भुटानी शरणार्थी काण्ड पनि छ । सो प्रकरणमा केपी ओली सिधै जोडिएको भन्ने आरोप त लागेको छैन तर उनकै गृह जिल्ला र गृहनगरमा बसेका शरणार्थी बनाएर नै हो अमेरिका पठाइदिने भन्दै झुक्याइएको ।
यसरी भ्युटावरदेखि चिनियाँहरूको टोली घुमाएर अब यहाँ चीनका राष्ट्रपति सि जिनपिङसमेत आउँछन् भन्दै गरेका फन्टुस गफ, गिरिबन्धु काण्डमा चुकेको प्रमाण र त्यसलाई नै केन्द्रमा राख्दै दुर्गा प्रर्साइंले गरेको पानी खेदो, अनि केपी ओलीका प्रिय पात्रहरू रोमनाथका छोरा र गोविन्द थापाले त्यहाँका स्थानीयहरूलाई सताएको, ठगेको जस्ता प्रकरणहरूले केपीलाई गृह जिल्लामा साँच्चै अप्ठ्यारो स्थिति बनेको उनी निकटहरू नै बताउने गर्छन् ।
(साभार: जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू