एमाले अध्यक्षसामु गम्भीर उजुरी
२०४३ सालदेखि अनेरास्ववियुमा आबद्ध भई पार्टी जीवनमा प्रवेश गरें । २०४७ देखि काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा आएको समस्यासँगै यसको समाधानस्वरुप बायोग्यास राख्ने मान्यतासँगै अघि बढें ।
२०७४ सालमा विराटनगरस्थित श्रीकृष्ण गोसेवा सदनमा यहाँकै हातबाट उद्घाटन भएको बायोग्यास प्लान्ट २०७४ भदौ ५ गते घरघरमा पुर्याएको स्मरण होला । शुरुमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट टेण्डर बिड हुँदा पाइपलाइन थिएन । यो प्रोजेक्टको उद्देश्य बायोग्यासबाट विद्युत् उत्पादन गर्ने थियो । निर्माण शुरु भएदेखि नेपाल ऊर्जा प्रा.लिबाट प्रोजेक्ट म्यानेजरको रूपमा खटिएपछि गौशालावाला र वैकल्पिक ऊर्जाका साथीहरूलाई सम्झाइबुझाइ यहाँको सपना प्रोजेक्ट ‘घरघरमा पाइपलाइन’ लाई सार्थक बनाएँ ।
२०७४ सालको माघदेखि कन्काई नपाका मेयर राजेन्द्र पोख्रेल, स्थानीय पार्टीका साथीहरू मिनाल तिमल्सिना, दीपक चापागाईं, राजकुमार कट्टेलको आग्रहमा ३ नगर– कन्काई, बिर्तामोड, अर्जुनधाराको फोहोर संकलन गरी त्यसबाट बायोग्यास निकालेर एक हजार घरघरमा ग्यास पुर्याई अध्यक्ष कमरेडको सपना साकार बनाउने उद्देश्यसाथ अघि बढ्ने काम भयो । कम्पनी दर्ता, प्रविधि हेर्न दिल्ली, हरियाणादेखि मुम्बई, पुना घुमाउने काममा सक्दो सहयोग गरें । २०७५ साल जेठ १७ गते कन्काई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी दर्ता भयो । कम्पनीको मूल नारा ‘वातावरण संरक्षणका लागि हामो प्रयास, नवीकरणीय ऊर्जाबाट घरघरमा ग्यास’ कायम भयो । कम्पनीले २०७६ साल २ महिना २० गते प्रमुख प्राविधिक सल्लाहकारको रूपमा नियुक्ति दियो । मैले यसलाई सहर्ष स्वीकार गरें र प्रोजेक्ट सफल बनाउन दिनरात लागें । विभिन्न बहाना बनाई नियुक्ति ढिलो दिएको थियो । यसअघि शिलान्यासको काममा, जमिन छनोट प्रोजेक्ट निर्णय गर्ने बेला सार्वजनिक कन्काईको भेला र उपभोक्ता तथा स्थानीय लगानीकर्ताको भेलामा, प्रोजेक्ट डिपीआर र हाइड्रोलोजी रिपोर्ट तयार गर्ने बेला, परीक्षणको समयमा पुगेर प्राविधिक सल्लाह दिने काम गरें । यसअलावा बायोग्यास प्रविधि हेर्र्न भारतका विभिन्न ठाँउहरू जानुका साथै कम्पनीको रु. एक लाखको सेयर पनि किनें । वैकल्पिक ऊर्जाले शुरुमा दिएको अनुदानबाट बायोग्यास प्लान्ट निर्माण कार्य अघि बढ्यो ।
लकडाउनताका कम्पनीले काम सुचारु राख्ने तय गर्यो । हामी प्राविधिक टिम र मजदुरले कोरोनालाई समेत वास्ता नगरी ४० लाख लिटर क्षमताको बायोग्यास प्लान्ट लिकेज नहुने गरी बनाउन सफल भयौं । जीवनको कुनै पर्वाह गरिएन । यस क्रममा मुकेश साह, रूपेश साह, देवेन्द्र ढकाल र समस्त मजदुर सँगै साइटमा दुःख सहेरै दिनको १२ देखि १४ घण्टासम्म खटियौं । न हाम्रो स्वास्थ्य बिमा गरिएको थियो न त जीवन बिमा । दोस्रो कोरोनाकालमा दशैं पूर्णिमाको दिन संक्रमणको शंकाले काठमाडौं आएँ । स्वस्थ भई कार्यस्थल पुगें, काम ठप्प थियो । भारतबाट आउनुपर्ने सामानको तयारी हुन थाल्यो तर निर्माण अझै बाँकी थियो । कम्पनीमा पैसा अभाव हुन थाल्यो र काम एकदम कम गतिमा अघि बढ्यो । मैले लेबरलाई मासु खुवाउन, लेबर पेमेन्ट कम्पनीले दिन नसक्दा दिएँ, काम सुचारु हुँदा अध्यक्षसँग पैसा माग्दा छैन छैन मात्रै भन्ने, आफूसँग भएको पैसा खर्चंदै गएँ, प्रोजेक्ट सफल होस् भनेर कम्पनीलाई बेलाबेलामा सापटी पनि दिएँ । काम गरेको दिनदेखिका तलब सुबिधा माग्ने काम गरिनँ, वैकल्पिक ऊर्जाबाट पटकपटक फोन आइरह्यो काम छिटो सकाउन । कर्मचारी जस्तो भन्दा पनि लगानीकर्ताको रूपमा काम गरें । यसको भिडियोहरू जीवन बायोग्यास युट्युब च्यानलमा हेर्न सक्नु हुनेछ । दोस्रो स्थानीय निर्वाचन अघिसम्म आइपुग्दा कम्पनीमा पैसा अभावले गर्दा जडान गर्नुपर्ने सामग्री सबै थन्कियो । मेयर दाजु राजेन्द्र पोख्रेलबाट नै कम्पनीको सेयर ६०% किन्ने निर्णय भएछ । त्यसबेला काठमाडौंैमा भन्सार छुटको चिठी बनाउन व्यस्त थिएँ ।
यसबीच कम्पनी अध्यक्ष मिनाल तिमल्सिनाले भुक्तानी दिन बाँकी भनेर मेरो तलब भुक्तानी शीर्षकमा १४,७७,५००÷– मात्र टिपाउनु भएछ । म चिठी लिएर प्रोजेक्ट साइट पुगें । साइटमा भारतीय कम्पनी जिजिइ पावर प्रालिले नयाँ इञ्जिनियर टिम पठाएको रहेछ । अध्यक्षले मिटिङ बोलाउन र हिसाब मिलानमा ध्यान दिनुभएन । मेरो लिनुपर्ने २९ लाख ९ हजार ३४ रुपैयाँ ४१ पैसाको हिसाब बुझाएँ । पटकपटक बोर्ड सदस्यहरू र एमालेका नेता तथा नगर प्रमुखलाई जानकारी गराएँ । सबै हुन्छ–हुन्छमै टार्ने प्रयासमा लागे । फिटिङको काम अन्तिम चरणमा पुग्दा २०७९ साल चैत २५ गते गोबरको प्राविधिक जाँच गर्नका लागि काठमाडौं आएर कम्मर दुखाइको उपचारमा लागें । २०८० साल जेठ ८ गते साइट पुग्दा बिहान ६ः३२ बजे कार्यालय सहायक सन्तोष भट्टराईसँगै गेटबाट छिर्न दिएन । मेरो बाइक लान दिनुभन्दा पनि गार्ड दाइले आदेश छैन सर भनेपछि फर्किएर होटेलमा बसें । सुरुंगा बसाइ क्रममा पुरानो कार्यसमितिका पदाधिकारी भेटें तर सबैले साउन लागेपछि पैसा पाउनुहुन्छ भन्ने आश्वासन दिए । ८ दिन बसेर काठमाडौं फर्किएँ ।
साउन लाग्यो, भदौ लाग्यो, पैसा छैन मात्र भन्ने । २०८० साल भदौ २७ गते बिहान ९ः३० बजे म बसेको प्रोजेक्ट एरियाभित्रैको कोठामा मिनाल तिमल्सिना, कन्काई न.पा. कर्मचारी लक्ष्मी अधिकारी र एकाउन्टेन्ट गायत्री आदिको अगुवाइमा मलाई जानकारी नदिई कोठा फुटाएर सामान अन्यत्र सार्ने काम गरे । जीवनभरिको अनुसन्धानको सबै डाटा भएको रिपोर्ट र फोटोसहित विभिन्न लेख डिजाइन भएको संग्रह, कम्प्युटर हार्ड डिस्कको सुरक्षा भयो/भएन थाहा छैन । म कार्यरत हुञ्जेलसम्म मेरो गल्ती देखाउन नसक्ने, मलाई निक्लेर जा पनि भन्न नसक्ने अनि विभिन्न आरोप लगाएर शुरुमा मुकेशकुमारलाई कम्पनी छोड्न बाध्य बनाए । पछि मेरो पालो आयो ।
अध्यक्ष कमरेडसँग नाम जोडेर शुरु भएको यो प्रोजेक्ट, बिनापानीको स्रोत छिमेकी देवेन्द्र ढकालको सोलार पम्पबाट पानी तानी बिनाविद्युत्, विद्युत् प्राधिकरणको प्रसारण लाइनबाट हुकिङ गरी सकेको सबै गरी निर्माणकार्य सम्पन्न गर्दा पनि घोर अन्यायमा पारियो । आशा थियो तपाईंको हातबाट पुरस्कृत हुने तर यहाँ अन्यायमा परियो । अध्यक्ष कमरेड, न्याय दिलाई पाऊँ । मसहित अन्य तीन जना पनि अन्यायमा परेको जानकारी गराउँछु ।
– जीवन श्रेष्ठ, काठमाडौं जिल्ला विद्यार्थी विशेष कमिटी सदस्य, बायोग्यास अनुसन्धानकर्ता, प्रमुख सल्लाहकार बागमती युवा क्लब, संयोजक वरपिपल अभियान साइट, सुपर भाइजर मुकेशकुमार साह, कार्यालय सहायक देवेन्द्र ढकाल, मजदुर कालु मुसहर, सम्पर्क नं. ९८५१००१८५३
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू