ठगीको नयाँ शैली, भारतीय गिरोहको बिगबिगी

ठगीको नयाँ शैली, भारतीय गिरोहको बिगबिगी
सुन्नुहोस्

सर्वसाधारणलाई झुक्यानमा पारेर ठग्ने भारतीय गिरोह सक्रिय भएपछि रौतहट प्रहरीले सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचना निकाले कुनैपनि प्रलोभनमा नपर्न तथा ठगीबाट बच्न सतर्क गराएको हो । 

प्रहरीका अनुसार भारतीय महिलाहरुको एक समूहले सुनको मंगलसुत्र, टीकालगायत विभिन्न गहना दिएमा एक दिनपछि थप गहनासहित ५० हजार नगद र एउटा फ्रिज सित्तैमा पाइने प्रलोभन देखाएर ठगी गर्ने गरेको पाइएको छ । 

‘भारतबाट तीन-चार जना महिलाको समूहले रौतहटको विभिन्न गाउँ गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टीलगायतका अन्य गाउँमा गई महिला, आमा, दिदीबहिनीलाई विभिन्न प्रलोभन देखाई पायल दिँदा एक दिनपछि पायल र थपमा राइस कुकुर दिने, चाँदीको बिच्छी दिँदा एक दिनपछि बिच्छी र थपमा कमण्डल दिने, सुनको मंगलसुत्र, टीका अन्य गहना दिँदा एक दिनपछि गरगहना थपमा ५० हजार नगद र एउटा फ्रिज दिने भन्दै ठगी गर्ने महिलाबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं,’ प्रहरीले भनेको छ ।

प्रहरीले गिरोहमा सक्रिय एक महिलाको तस्वीरसमेत सार्वजनिक गर्दै कसैले देखेमा तत्काल कन्ट्रोल नम्बर १०० वा ९८५५०४०९९९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

टिप्पणीहरू