रविसँगै रास्वपा सहमहामन्त्रीकी श्रीमती पनि घानमा

रविसँगै रास्वपा सहमहामन्त्रीकी श्रीमती पनि घानमा
सुन्नुहोस्

रूपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीलाई पनि पक्राउ अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अनुसन्धानमा हाल कास्की प्रहरीको हिरासतमा रहेका रविलाई सुप्रिम सहकारीको रकम ठगीमा थप अनुसन्धानका लागि अब रुपन्देही लगिने छ । 

हाल अनुसन्धानको क्रममा पोखरामा रहेका नेपाल प्रहरीका छविलाल जोशी बञ्जाडेसँग रुपन्देहीको सरकारी वकिल कार्यालयले बुधबार र बिहिबार बयान लिएपछि जिल्ला अदालतले रविलगायत अन्य एक दर्जनलाई पक्राउ अनुमति दिएको हो । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उक्त सहकारीको रकम पनि रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरिएको देखिन आएको स्वीकारेको थियोे । उक्त नेटवर्कका अध्यक्ष जिबी राई थिए भने उपाध्यक्ष जोशी । उनै जोशीलाई दुई दिन बयान लिएपछि हिजो पोखरा पठाइएको छ । रवि र छविलाई कास्की जिल्ला अदालतले हिजो पुनः एक साताको म्याद थप गरेको छ । 

बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम सोही सहकारीबाट गएको बताइन्छ ।

जोशी,लामिछानेसहित जीबी, भूपेन्द्रबाबु राई,कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम ट्रान्सफर भएको थियो ।

प्रहरीले यसअघि गरेको छानबिनमा जोशी,राई,सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका हुन् । पूर्वअध्यक्ष राईसहित अन्य व्यक्ति फरार छन् ।

अदालतको पक्राउ अनुमतिसँगै रवि लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गर्ने मार्ग प्रशस्त भएको छ । अब उनीसँगै सहमहामन्त्रीकी आचार्यकी श्रीमतीलाई पनि अनुसन्धानको लागि प्रहरीले पक्राउ गर्ने छ ।

टिप्पणीहरू