कुन्ता, रोशनी र सविनाका करुण कथा
धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै जनताको करोडौं बचत ठग्नेहरु फरार भएको बेला पोखराको सूर्यदर्शन सहकारीका सफ्टवेटर डेभलपर र डेटा इन्ट्री गर्ने दुई जना कर्मचारी जेलमा थुनिएका छन् ।
जिबी राईले सञ्चालन गरेका पाँच वटै सहकारीको आइटी इञ्जिनियर भविश्वर अर्याल र प्रमोद भट्टराईसँग प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न सहयोग पनि लिएको थियो । उनीहरु कानुनलाई सहयोग गर्ने भन्दै आफैं अदालतमा हाजिर भएका थिए । भविश्वरले उक्त कम्पनीको जागिर छाडेपछि भर्ना भएका भट्टराईकी श्रीमती सविना भर्खरै सुत्केरी भएकी छन् । दुई वर्षअघि अर्याल जिबीको काम छाडेर अर्कै कम्पनीमा जोडिएका थिए । अर्याल पत्नी कुन्ताका अनुसार उनले सफ्टवेयर बनाएपछि ६–७ वर्ष फुलटाइम खर्चिएर डाटाहरु इन्ट्री गरेका हुन् ।
२०७८ मा जागिर छाडेपछि पनि राईका सहकारीको ३/३ महिने ब्याजहरु पोस्टिङ् गर्ने बेला उनैलाई बोलाइन्थ्यो । त्यसबाहेक अन्य कुनै कैफियत नभए पनि उनलाई थुनामा राख्नु अन्याय भएको कुन्ताले गुनासो गरेकी छन् ।
उनका अनुसार रवि लामिछानेले जे–जस्ता बनावटी कुरा गरे पनि सिस्टममा देखिएको कुरा भनेको बचत झिकेर खाने उहाँहरु नै हो । सिस्टमले त्यो कुरा सावित गर्छ । उनको नाममा फेक एकाउन्ट बनाउन सम्भव नै छैन । किनभने सिस्टममा अथोराइज्ड व्यक्तिबाहेक अरु कसैले इन्ट्री गर्न नपाउने व्यवस्था थियो । जुन जुन कर्मचारीले रवि लामिछानेका नाममा रकम ट्रान्सफर गरे त्यो फेक नभई वास्तविक भएको अर्यालको दाबी छ । सफ्टवेयर निर्माण र डेटा इन्ट्री नहुुन्जेलसम्म लामिछानेले प्रत्यक्ष रुपमा आफ्नो खातामा नदेखाएर अरुको नाममा फर्जी कागजात तयार गरी सहकारीको रकम अपचलन गरेको बताइन्छ । तर सफ्टवेयरमा इन्ट्री गर्न थालेपछि चैं लामिछानेको बेइमानी प्रष्ट देखिन थाल्यो । यसै क्रममा रोशनी गुरुङले लामिछानेका नाममा बुटवलबाट रकम जम्मा गरेको देखिन आएको हो ।
अर्यालका अनुसार लामिछाने जोडिनु अघिसम्म राई नेतृत्वका सहकारीहरु सहज ढंगले सञ्चालनमा थिए । तर जव गोरखा मिडियाअन्तर्गत ग्यालेक्सी फोर के टेलिभिजनका नाममा लामिछाने जोडिए त्यसपछि समस्या देखिन थाल्यो । राईद्वारा सञ्चालित ५ वटै संस्था विकास बैंकहरुलाई टक्कर दिने खालका थिए ।
त्यसैगरी बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अध्यक्ष रवि लामिछानेका खातामा जम्मा गर्ने रोशनी गुरुङको पनि बिजोग भएको बताइन्छ । गुरुङले पारिवारिक तनाव खेप्नुका साथै जागिरबाट पनि हात धुनुपरेको छ । उनलाई अरु कसैले जागिर दिन चाहेका छैनन् । चौतर्फी अभावका बीच सानो बच्चा पाल्ने दायित्व उनैको काँधमा छ ।
सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन समितिले भविश्वर अर्यालसँग पनि सोधपुछ गर्नुका साथै सफ्टवेयर सञ्चालनको लागि सहयोग मागेको थियो । उनले समितिकै अनुरोधमा चार्टर्ड एकाउन्टेटलाई सफ्टवेयर चलाउन सघाएका पनि थिए । तर उल्टै उनैलाई किन थुनेको हो पत्नी कुन्ता चित्तबुझ्दो जवाफको खोजीमा छिन् । उनका अनुसार, भविश्वरलाई सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिले ४३ नम्बरमा ‘के सहकारीको पैसा माननीय रवि लामिछानेकै खातामा गएको हो त ?’ भन्ने प्रश्न गरेको थियो । त्यसबेला भविश्वरले यो कुरा सत्य हो भन्ने जवाफ दिएका थिए । ‘पहिला त मलाई थाहा हुने कुरा पनि भएन । सिस्टममा हेर्दाखेरी रवि लामिछाने छ तर ठेगानाचाहिँ गलत लेखिएको छ । यसको कारण सूर्यदर्शन सहकारीको कार्यक्षेत्र पोखरा भएको र नियमानुसार पोखरा नै उल्लेख गर्नुपर्ने भएका कारणले त्यस्तो लेखिएको होला’ भविश्वरको जवाफ यही नै थियो ।
स्रोतका अनुसार, सूर्यदर्शन सहकारीमा समस्या आउनेबित्तिकै सबै जना फरार भए । भविश्वर अर्कै कम्पनीमा कार्यरत थिए । उनलाई तपाईं आइटीको मान्छे हुनुहुँदो रहेछ, हामीलाई सघाउनु पर्यो भन्दै कास्कीबाट सूर्यदर्शन सहकारीका सञ्चालकले फोन गरे तर भविश्वरले कम्पनी छोडेर अन्तै काम गर्न थालेकाले सहयोग गर्न नमिल्ने बताए । उनले आफैंले बनाएको सफ्टवेयर र सिष्टम भए पनि अरु नै कम्पनीसँग जोडिएका कारण कानुनले त्यस्तो काम गर्न नमिल्ने भनाइ राखेका दाबी कुन्ताले गरेकी छन् । तर पछि उनी पोखरा महानगरको अनुरोधमा छानबिनमा सहयोग गर्न राजी भए । र, त्यसैअनुरुप सहयोग गर्दै जाँदा उल्टै पुर्पक्षका लागि जेलमा पुर्याइयो ।
जिल्ला प्रहरी कार्यालयले भने केही समयका लागि सहकारी सञ्चालक समिति सदस्यको रुपमा भविश्वर अर्यालको नाम राखिएको र उनले थाहा पाएपछि हटाएर आइटी शाखामा कार्यरत प्रमोद भट्टराईलाई सञ्चालक बनाएकाले दुवैलाई छानबिनको दायरामा ल्याएको बताइन्छ । दुवैलाई सञ्चालक समितिमा आपूmहरु भएको कुरा थाहा नभएको र भट्टराई आफैं कास्की अदालतमा हाजिर हुन गएका थिए । कुन्ता भन्छिन्, ‘यति धेरै रकम अपचलन एउटा व्यक्तिले गर्न सक्दैन, यसमा गिरोहकै हात छ । बरु उल्टै निर्दोषहरुलाई बलीको बकरा बनाउने काम भएको छ ।’
जनआस्थासँग कुन्ताले भनिन्, ‘जिबी राई भागेर समस्याको समाधान हुँदैन । उहाँले भौतिक रुपमा उपस्थित भएर सत्य कुरा बताउनुपर्यो । कतिञ्जेलसम्म भाग्ने ? हिजोको दिनमा उहाँलाई अप्ठ्यारो थियो होला, कसैले मार्लान् या के गर्लान् भन्ने डर पनि थियो होला । धम्की त हाम्लाई पनि आउँछन् । धम्की आयो भन्दैमा गल्ती नगरेपछि किन डराउने, देशै छोडेर कतिन्जेल भाग्ने ? गल्ती छ भने स्वीकार गरेर कानुनी उपचार खोज्ने हो । उहाँ भागिरहेपछि अरु दोषी उम्कन्छन्, सबै दोष उहाँमाथि नै थोपरिन्छ । त्यसैले यो मौका छ, जिबी राईले जहाँ भए पनि मौकाको सदुपयोग गर्दै कानुनी रुपमा ठगीको आरोपको सामना गर्न तयार हुनुपर्यो ।’
कुन्ताका अनुसार जिबीको अनुपस्थितिमा अदालतले फैसला सुनाएपछि एक्लै बदनामीको भारी बोक्नुपर्ने हुन्छ । राईका लागि यो एकदमै राम्रो मौका हो । त्यसो त राईलाई केही कर्मचारीले ‘तपाईं भाग्नु हुँदैन, आरोपको सामना गर्नुपर्छ । भाग्नुभयो भने यसले तपाईंलाई हानी गर्छ, यो ठूलो गल्ती हुनेछ’ भन्ने सल्लाह पनि दिएका थिए । ती कर्मचारीलाई भाग्दिन भन्ने राई एकाएक किन र कसको सल्लाहमा भागे भन्नेबारे पनि कर्मचारीवृत्तमा चर्चा हुने गरेको छ ।
ठगी र फर्जी काम गर्दै भाग्नेहरु सञ्चै होलान् । तर सरकार र कानुनलाई सहयोग गर्छु भन्ने आईटी कर्मचारी भविश्वर अर्याललाई जिबी राईको नेचर हब्र्स कम्पनीमा जागिरे भई सफ्टवेयर बनाएर डेटा इन्ट्री गरेवापत पुर्पक्षका लागि कास्की कारागारमा थुनिएपछि केटाकेटी र आफ्नो गुजाराको निम्ति चटपटे बेच्न थालेकी पत्नी कुन्ता दुखेसो पोख्दै प्रश्न गर्छिन्, ‘स्वर्णिम वाग्ले, बिराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सोविता गौतम र डा. तोसिमा कार्कीले मसँग कुरा गर्न सक्छन् ? मैले भोगेको पीडा अनुभूत गर्न सक्छन् ?’
उनले जनआस्थासँगको भेटमा भनिन्, ‘मैले यही प्रश्न सूर्य थापासँग पनि राखेको थिएँ । उनले मलाई अहँ, हामी त भोग्न सक्दैनौं भनेका थिए । आइटी इञ्जिनियर भएकै कारण कोही मान्छेले अरुको अपजसको भारी बोक्दै जेल बस्नुपर्ने हो ? उनको परिवारले पीडित हुनुपर्ने हो ? जान्नेलाई छान्ने भन्नेहरुले आफैं अनेकथरी अपराध गर्दै लाजशरम पचाएर सडकमा उफ्रिँदै हाम्रो मान्छे छोड भन्नुपर्ने ? कस्तो विडम्वना हो ?’
भन्छिन्, ‘तर्कयुक्त आन्दोलन गर्ने क्षमता नभएपछि, कानुनी राज्यको उपहाससहित अराजक आन्दोलन गर्ने शैलीलाई रास्वपाका नेताहरुले छाड्नु पर्ने होइन र ? संसदमा बोल्नुपर्ने माननीयहरुले माइतीघर मण्डलामा न्याय दे भन्दै उफ्रिनु आफैंमा लज्जास्पद कुरा हो । वास्तवमा न्याय त सहकारीबाट पीडित र त्यसकै घनचक्करमा नजानिकनै वा आफ्नो जागिरे काम गर्दा फसेका अन्य व्यक्तिहरुले पो माग्नुपर्ने हो । तर पीडितहरुले सरकार र न्यायालयप्रति विश्वास गरेका छन् र उग्र भएर सडकमा ओर्लिएका छैनन् ।’
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू