कुलमानले जसलाई उकासे, आज उही दुश्मन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर प्राधिकरणकै पूर्वकर्मचारी एवं मन्त्रालयमा हालै वरिष्ठ ऊर्जा विज्ञ (स्पेशल क्लास) नियुक्त प्रबल अधिकारीलाई माथि उकाल्न लागिएको सिंहदरवारमा चर्चा छ ।
उनी गत भदौ १३ गतेको क्याबिनेट बैठकबाट ऊर्जा मन्त्रालयको ऊर्जा विज्ञमा नियुक्त भएका थिए । ‘कुलमानलाई हटाएर आफू कार्यकारी निर्देशक बन्ने दाउ छ,’ स्रोतले भन्यो । यसका लागि उनले मन्त्रालयमा ऊर्जासम्बन्धी ज्ञान भएका कर्मचारीहरुको धमाधम सरुवा गराइरहेको बताइन्छ । ‘अधिकारीकै चलखेलमा ऊर्जा क्षेत्र बुझेका सचिव गोपाल सिग्देलको सरुवा गराइयो, उनको ठाउँमा अहिले ऊर्जा क्षेत्रवारे खासै ज्ञान नभएका पर्यटन मन्त्रालयका सुरेश आचार्यलाई ल्याइएको छ,’ स्रोतले भन्यो । यता, माओवादीकालमा नियुक्त घिसिङको वर्तमान सरकारसँग राम्रो सम्बन्ध छैन । काँग्रेस–एमाले गठबन्धन सरकार बनेसँगै मन्त्रालय र प्राधिकरणबीच दूरी बढेको छ ।
प्राधिकरणले उद्योगी–व्यापारीले तिर्न बाँकी डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्ने अडान राखेपछि बोर्ड सञ्चालक समितिका सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई बिदाकै मौकामा जिम्मेवारीबाट हटाउने निर्णय यही सरकारले गरेको थियो । तर, सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएपछि उनीहरु पुरानै जिम्मेवारीमा फर्केका छन् । त्यसपछि प्राधिकरणसँग झन् चिढिएका ऊर्जामन्त्री खड्काले गत असोज २३ गते कार्यकारी निर्देशक घिसिङलाई पन्ध्र बुँदे स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरण सोधेको भोलिपल्ट प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेका तर बक्यौता नतिरेका ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र महसुल तिर्न ताकेता गरेको थियो । यद्यपि, अधिकांश उद्योगीले बक्यौता नतिरेपछि अहिले प्राधिकरणले ती उद्योगको लाइन काटिदिएको छ ।
कुलमानका विश्वासपात्र अधिकारी
विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशकलाई हटाएर आफू बन्ने दाउमा रहेका प्रबल अधिकारी कुलमानका विश्वास पात्रसमेत हुन् ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, मंगलटार घर भएका अधिकारीले करार कर्मचारीका रुपमा ०५४ सालमा प्राधिकरणमा प्रवेश पाएका थिए । सेवा प्रवेशको तीन वर्षपछि अर्थात् ०५७ सालमा उनको स्थायी नियुक्ति भएको थियो ।
सेवा प्रवेशको शुरुवाती चरणमा विभिन्न निकायको जिम्मेवारी सम्हालेका उनी ०६६ सालमा तत्कालिन ऊर्जामन्त्री नेपाली काँग्रेसका डा.प्रकाशशरण महतको निजी सचिव बने । राजनीतिक रुपमा नेपाली काँग्रेसनिकट मानिएका उनी त्यतिबेला नवौं तहमा थिए । त्यसपछि आफ्नो अंक बढाउन केही समय रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनामा पनि काम गरे । दशौं तहमा बढुवा भएपछि विद्युत व्यापार विभागमा दशक बढी बिताए । त्यतिबेलै उनले अहिलेका ऊर्जामन्त्री खड्कासँग सम्बन्ध बनाएका हुन् । खड्का पछिल्लो समय जलविद्युत र होटल लाइनमा ठूलै लगानीकर्ता मानिन्छन् । उनको धेरैजसो निर्माणाधीन जलविद्युत परियोजना र ठूला होटलमा राष्ट्रिय वाणिज्य बैंकको लगानी छ । मेन्छेयाम हाइड्रोपावर र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका संस्थापक अध्यक्ष पनि हुन् । मेन्छेयामले संखुवासभामा दुई वटा जलविद्युत उत्पादन गरिरहेको छ । जलविद्युत् क्षेत्रमा निकै लगानी रहेका उनी अहिले सोही क्षेत्रलाई नेतृत्व गर्ने मन्त्रालय हाँकिरहेका छन् । अर्कोतर्फ, लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा कब्जा गरी आफ्नो निजी व्यवसायमा प्रयोग गरेकोमा पनि विवादित छन् ।
काँग्रेसबाट मन्त्रीमा सिफारिस भएका उनको अधिकारीसङ्ग विद्युत व्यापार विभागमा रहँदै राम्रो चिनजान रहेको स्रोत बताउँछ । त्यतिबेला अधिकारीले उनको पक्षमा काम गरिदिन्थे । उमेरहदका कारण गत वर्षको पुस १३ गतेबाट अनिवार्य अवकाशमा जानु दुई दिनअघि कार्यकारी निर्देशक घिसिङले उनलाई निर्देशक (एघारौं तह) बाट प्राधिकरणको उपकार्यकारी निर्देशक (बाह्रौं तह) मा बढुवा गरिदिए । यसअघि प्राधिकरणले ०७८ पुस १२ गते सूचना निकाल्दा ०७८ पुसमा अनिवार्य अवकाश पाउने कर्मचारीमा विद्युत व्यापार विभागका निर्देशक अधिकारीको पनि नाम उल्लेख थियो ।
प्रवेश गर्दा आफैँले भरेको सिटरोलका आधारमा उमेरहदका कारण ०७८ पुस १४ गते अवकाशमा जाँदै थिए । तर, अधिकारीको नागरिकता र शैक्षिक योग्यता प्रमाणपत्रको जन्ममिति भने सिटरोलमा मिलेन ।
सिटरोल भर्दा गल्ती भएको भन्दै अवकाशको मितिअघि नै सच्याउन प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे । तर, कानूनी कारण देखाएर तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नमानेपछि पदबाट राजीनामा दिए ।
अधिकारीले राजीनामा दिएपछि तत्कालिन प्राधिकरण सञ्चालक समिति अध्यक्ष रहेकी ऊर्जामन्त्री पम्फा भुसालले सचिव देवेन्द्र कार्कीलगायतसँग सिटरोल सच्याउने निर्णयका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । त्यसैबीच ०७८ साउन २५ गते शाक्य हटेर कुलमान दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएसँगै उनको संकट पनि टर्यो । पहिलो कार्यकालमा आफूसँग निकट सम्बन्ध कायम भएका कारण घिसिङले उनको राजीनामा अस्वीकृत गर्नुका साथै सिटरोल सच्याएर दुई वर्ष जागिर लम्ब्याइदिएका थिए अहिले उनै अधिकारी कुलमानको दुश्मनमा परिणत भएका छन् ।
टिप्पणीहरू