बालुवाटार बैठकमा रविको हिसाबकिताब

बालुवाटार बैठकमा रविको हिसाबकिताब

यिनीहरु राजनीतिक चरित्रका मान्छे नै हैनन् । यस्ता अराजकलाई त्यसै छोड्न हुँदैन– सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली यसरी आक्रामक रुपमा प्रस्तुत भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सही थाप्दै भन्नुभयो– ‘खतरनाक मान्छे हो त्यो, धेरै झूठ बोल्छ ।’

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन कात्तिक ९ गते शुक्रबार बसेको बैठकमा सत्ता साझेदार दलका प्रमुख नेताको दह्रो साथ पाएपछि हौसिँदै प्रधानमन्त्रीले थप्नुभयो– ‘सहकारी पीडितले पोखराबाट लखेटिसके, अब यहाँ अलिअलि हल्ला गर्छन् । तर, सरकार कानुनको पालना गराउनबाट पछि हट्दैन ।’ 

त्यस क्रममा तपाईंले नै पुल्पुल्याएर त्यस्तो भएको त हो नि ? भन्ने प्रश्न उठ्दा ओलीले आफ्नो बचाऊ गर्दै लैनो बाच्छोको कथासँग जोडेर रवि लामिछाने प्रवृत्ति घातक रहेको बताउनुभयो । उखान जोड्दै सुनाउनुभयो– ‘शुरुमा अलिअलि उफ्रिँदा मायाले यसो सुम्सुम्याई दिएको, मात्तिएर डिलमा पुगेको थाहै पाएन । फेरि उफ्रिँदा भीरमा खस्यो ।’ बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको पनि चर्कै आलोचना भयो । प्रचण्डलाई सबैभन्दा झूठ बोल्ने मान्छे भन्दै ओलीले सरकार छोड्न परेको तोडमा अराजकता मच्चाउँदै हिँडेको आरोप लगाउँदा देउवा भने मौन बस्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले थप भन्नुभयो– बंगलादेशजस्तो बनाउने भन्दै हिँडेका छन्, बनाए हाम्लाई के हुन्छ र, १७ हजार हामीले मारेको हैन !

प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्रीमात्रै बोलेको बैठकमा सत्ता गठबन्धनमा आवद्ध सबै दलका नेता सहभागी थिए । प्रधानमन्त्रीद्वारा रविको पक्षमा स्टाटस लेखेवापत अघिल्लो दिनको बैठकमै केरकारमा परेका सिके राउतले मुख खोलेनन् । उनलाई सत्ता पक्षमा हो कि विपक्षमा कित्ता प्रष्ट गर्न भनिएको थियो । प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएकोमा प्रष्टीकरण दिएका महन्थ ठाकुर र रञ्जिता श्रेष्ठ पनि चुपचाप बसे ।

बैठक स्रोतका अनुसार साझा धारणा सार्वजनिक गर्नुअघि राउततर्फ संकेत गर्दै सत्ता पक्षमा बसेर प्रतिपक्षको भाषा नबोल्न र राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्ने भ्रम नछर्न घुमाउरो चेतावनीसमेत दिइयो । गृहमन्त्री लेखकले जनतालाई ठगेको कुरालाई राजनीतिक प्रतिशोध भन्नु गलत हुने बताउनुभएको थियो । भन्नुभयो, ‘कानुनको नजरमा सबै बराबर हो ।’

सरकार सत्ता पक्षका नेतालाई जोगाउने र प्रतिपक्षलाई तर्साउने दिशामा अघि बढेको आरोपप्रति गृहमन्त्री लेखकले नरम तर व्यंग्यात्मक शैलीमा जवाफ फर्काउनुभयो– आरोपित पक्राउ गर्ने कुरा पनि समानुपातिक–समावेशी हुन्छ र ! एक जनालाई समातेपछि अर्को दलको मान्छेलाई पनि समात्नुपर्ने कस्तो कुरा हो यो ? हिरासत पनि समानुपातिक बनाउनुपर्ने भए प्रचण्डजीसँग पनि नाम माग्नुपर्ला । खस–आर्य, मधेसी, जनजाति पनि मिलाउनुपर्ने होला । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू