जबसम्म जिबी राई आउँदैनन्, तबसम्म भीड लागिरहन्छ
आज बजारमा क्रान्ति शब्द एकदमै सस्तो बन्दै गएको छ । अरुले फालेको पुरानो तन्त्रको जगमा नयाँ तन्त्रको खिलाफ भीड जम्मा गरेर आउनेहरूले क्रान्ति शब्दलाई पत्रु बनाइदिएका छन् ।
विसंगति, बेथिति र अराजकता मच्चाउनेलाई सलुट गर्नेहरूको भीडले आफ्नो भीडलाई नीलो क्रान्तिको संज्ञा दिएको देख्दा क्रान्ति शब्द नै लज्जित भएको छ ।
भीड जम्मा हुनु क्रान्ति होइन, सुशासनको ज्योति प्रज्वलन गर्नु र जनतालाई हक अधिकार दर्ज गर्नुचाहिँ क्रान्ति हो । दुई चार जना मान्छेलाई सहयोगको नाटक मञ्चन गरेर करोडौं मान्छेमाथि प्रहार गर्नेहरू नक्कली समाजसेवाको मार्गबाट नेता बनेका उदाहरण छ्यासछ्यास्ती भेटिन्छन् ।
बेथिति कसरी नीलो क्रान्ति बन्छ ? विकृति कसरी नीलो क्रान्ति बन्छ ?
कमेन्टमा अश्लील शब्दावली प्रयोग गर्दै मान्छेको टाउकोमा कुकुरको ज्यान जोडी हिँड्नेहरूले विगतमा साइबर दुर्गन्ध फैलाएका थिए । तिनै रोगहरू आज पनि कुदिरहेका छन् । के यो सुशासनको प्रारम्भ हो ? जिउँदो मान्छेलाई मूर्दा बनाएर हिँड्नु विद्युतीय अपराध होइन ?
यस्तो बेथिति कसरी नीलो क्रान्ति बन्छ ? विकृति कसरी नीलो क्रान्ति बन्छ ? विद्युतीय अपराधीहरू कसरी क्रान्तिकारी बन्छन् ? त्यसैले आज हामीले सडकमा अनौठो भीड देखिरहेका छौं, त्यो भीडले न्यायको विरुद्ध, अदालतको विरुद्ध धावा बोलेको स्पष्ट छ । जबसम्म जिबी राई कठघरामा आउँदैनन्, तबसम्म सडकमा भिडहरू ब्लाइण्ड सपोर्टर बनेर लागिरहन्छन् ।
जब थुप्रै दोषले पुरिएका जिबी राई प्रहरी सम्पर्कमा आइपुग्छन्, तब नीलो क्रान्तिको नक्कली झण्डा च्यात्तिन थाल्छ । इतिहासमा महान् बलिदान र थुप्रै आन्दोलन भए । त्यसैको जगमा आज हामीले केही हदसम्म स्वतन्त्रता पायौं । त्यही स्वतन्त्रतालाई छाडातन्त्र बनाइदिनेहरूले नीलो क्रान्तिको राग अलाप्दा महान् शहीदहरूको घोर अपमान हुन्छ ।
डिजिटल ड्रामा वास्तविकताभन्दा फरक हुन्छ । यसकारण आज मानिस मेसिनरी भइसके जसलाई इतिहासको कुनै मतलब छैन । साइबरमा पढ्नै नसकिने शब्दावली र हेर्नै नसकिने चरित्र हत्याहरू भक्तजनहरूको एक्टिभिटी हो ।
जबसम्म विद्युतीय अपराधीलाई निर्मूल पार्न सकिन्न, तबसम्म अराजकताले लोकतन्त्रलाई नै छाडातन्त्र बनाइदिनेमा दुई मत छैन । हिजो न्युज २४ बाट चिच्याएकाहरु चिच्याउञ्जेल घर आउने बेलाका गुहार रविले टिभी छोडेपछि हराउनुमा स्टण्टको म्याजिक भनेर आशंका गर्ने कि नगर्ने ? लामिछानेले थुप्रै चेलीको उद्धार गरे भनेको प्रचारबाजी सुनिन्छ तर नेपालबाट एक पीडित चेलीले पचास चोटी गरेको म्यासेज र कल रिजेक्ट भएकाबारे हामीले उतिबेला नै पोस्ट गरेका थियौँ ।
लामिछानेले नेपाली राष्ट्रियता त्यागेर अमेरिकन बन्दा यो देशमा परिवर्तनको आन्दोलन चलिरहेको थियो तर उनलाई तत्कालीन जनयुद्धले लखेटेको भने होइन ।
‘हजारौंको आहुतिलाई
अमेरिकाबाट हेर्नेलाई
अहिले केही रोगीले
सिंह बनाइदिएको देख्दा
जंगली सिंहको समेत
अपमान भयो
साथीहरू,
न्यायको प्रेम गर्दा
कहिलेकाहीँ आफ्नैलाई
जेल कोच्नुपर्ने हुन्छ ।’
अरुलाई दोषी करार गर्दै भाइरल हुनेहरूले लाज र शरमको बोध गर्दैनन्, हेक्का हुनुपर्छ ।
टिप्पणीहरू