अर्याललाई मुख्यसचिवमा अर्का अर्यालले बदली गर्लान् त !

अर्याललाई मुख्यसचिवमा अर्का अर्यालले बदली गर्लान् त !

अन्तशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको अभियोग लागेपछि निलम्बनमा परेका तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालले अदालतबाट 'क्लिन चिट' पाएका छन् ।

सुरक्षण मुद्रणबाट स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बनमा परेका थिए । त्यसपछि सरकारले अर्याललाई सो सरहकै दरबन्दी सृजना गरेर राष्ट्रिय योजना आयोगमा व्यवस्थापन गरी प्रधानमन्त्री कार्यालयका सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिव नियुक्त गर्यो ।   

यसबीच गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्य सचिवमा बढुवा भए । गत भदौ १३ गते बढुवा भएका उनले कार्यभार सम्हालेको दुई महिना भैसकेको छ । तर, बुधबार विशेष अदालतले बैकुण्ठ अर्याललाई भ्रष्टाचार अभियोगमा सफाई दिएपछि पूर्ववत जिम्मेवारीमा फर्किने सम्भावनाबारे कर्मचारी वृत्तमा चर्चा हुन थालेको छ ।  

अदालतले भ्रष्टाचार आरोपमा क्लिन चिट दिएसँगै उनको निलम्बन फुकुवा हुनेमा शंका रहेन, तर के फेरि मुख्यसचिव भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा फर्किने सम्भावना छ ? प्रशासनिक क्षेत्रका जानकारहरुका अनुसार बैकुण्ठ मुख्य सचिवकै रुपमा जागिरमा फर्किने अवस्था रहँदैन । 

विगतमा पनि निलम्बनमा परेका मुख्य सचिव अदालतबाट चोखिएर फर्किएपछि सरकारले सृजना गरेको विशेष पदमा फर्किएको नजिर छ । लोकमान सिंह कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा चल्दा सरकारले मुकुन्द शर्मा पौडेललाई मुख्य सचिव बनाएको थियो । कार्कीले सफाई पाएपछि फेरि मुख्य सचिव भएनन् ।

केही विशेष कारण छन्,जसले बैकुण्ठलाई फेरि मुख्य सचिवको कुर्सीमा फर्काउने सम्भावना निकै क्षीण देखिन्छ । कारण १- क्याबिनेटले निर्णय नै गरेर विशेष पद सृजना गरी गरेर योजना आयोगमा पठाइसकेकाले सरकारले चाहेर पनि उनी प्रधानमन्त्री कार्यालयमा फर्किन पाउँदैनन् । जागिरमा पुनर्स्थापित भएपछि उनले सोही अड्डामा हाजिर हुनुपर्नेछ । पदीय हैसियत र सेवा सुविधा भने मुख्य सचिव सरहकै पाउने छन् । 

कारण २- कर्मचारी प्रशासनको मुख्य नेतृत्वका रुपमा एकजना मात्र मुख्य सचिव रहने व्यवस्था छ । अहिले एकनारायण उक्त जिम्मेवारीमा छन् । त्यसकारण व्यावहारिक हिसाबले पनि यौटै पदमा दुई जना हुन सक्दैन । एकनारायणलाई नियुक्त नगरेर निमित्तमै चलेको भए चाहिँ बैकुण्ठ मुख्य सचिव हुन पाउँथे । 

विगतमा पनि निलम्बनमा परेका मुख्य सचिव अदालतबाट चोखिएर फर्किएपछि सरकारले सृजना गरेको विशेष पदमा फर्किएको नजिर छ । लोकमान सिंह कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा चल्दा सरकारले मुकुन्द शर्मा पौडेललाई मुख्य सचिव बनाएको थियो । कार्कीले सफाई पाएपछि फेरि मुख्य सचिव भएनन् ।  

कारण ३- कानुनले दोषी ठहर नगरे पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलेकाले बैकुण्ठमाथि जीवनभर नैतिक प्रश्न उठिरहने छ । एक प्रकारको दाग लागिसकेकाले पुन: कर्मचारी प्रशासनको नेतृत्व लिँदा नैतिक प्रश्न उठ्न सक्छ । 

अर्कोतिर राजनीतिक परिस्थिति पनि बैकुण्ठको 'फेभर' मा देखिंदैन । त्यतिबेलै मुख्य सचिव पद खालि गराएर अर्को मान्छे ल्याउन उनीमाथि प्रतिशोध साँधिएको कतिपयको दाबी थियो । अदालतको पछिल्लो निर्णयसम्म आइपुग्दा त्यस्तो दाबी सत्यको नजिक देखिन्छ । किनभने अर्बौं घोटाला भएको यो प्रकरणमा अदालतले सुरक्षण मुद्रणका अध्यक्ष विकल पौडेल र सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । बैकुण्ठमाथि सञ्चार सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रको सञ्चालक समितिको अध्यक्षको हैसियतले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप थियो ।

तर, उनले सचिवको हैसियतमा समग्र निर्णय प्रक्रियाको नेतृत्व मात्र गरेकाले अभियोग ठहर भएन । उनीभन्दा अघिका सचिव महेन्द्रमान गुरुङ, दिनेश पनि निर्णय प्रक्रियामा सहभागी थिए । विनियमावली नबनेको अवस्थामा आर्थिक खरिद ऐनअन्तर्गत विभागीय प्रमुखको हैसियतमा सचिवहरुले सोसम्बन्धी निर्णय गरेका थिए । तर, अख्तियारले महेन्द्रमान र दिनेशलाई भने प्रतिवादी बनाएन । 

'यो प्रकरणमा बैकुण्ठलाई फसाइएको थियो, सफाई पाउनु नै उनका लागि ठूलो कुरा हो', उनी सम्वद्ध स्रोत सुनाउँछ, 'त्यसैले एकनारायणलाई रिप्लेस गर्नेतिर लाग्ने सम्भावना नै छैन । न्याय पाउनु नै अहिलेको लागि महत्वपूर्ण भएको छ ।'   

 

टिप्पणीहरू