रविलाई छुटाउन पोखरामा फेरि प्रदर्शन
दुई सातादेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा प्रदर्शन भएको छ । रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको नेतृत्वमा आज प्रदर्शन भएको हो ।
आन्दोलनकारीहरुले ‘सहकारी पीडितलाई न्याय दे’,‘न्याय मार्न पाइँदैन’,‘वास्तविक सहकारी ठगलाई कारबाही गर’,‘रवि दाइ हाईहाई’,‘रवि दाइलाई न्याय दे’,‘भ्रष्ट सरकार मूर्दावाद’,‘भ्रष्टहरुलाई कारबाही गर’,लगायतको पम्प्लेट बोकेर नाराबाजी गरेका छन् ।
सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी पक्राउ परेपछि रास्वपाका नेता–कार्यकर्ताले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
टिप्पणीहरू