भाइमसालाको भाउ सुनेर भाउन्न

भाइमसालाको भाउ सुनेर भाउन्न

यो वर्ष भाइमसलाको मूल्य ह्वात्तै बढेको छ । झण्डै ३० प्रतिशतले भाउ बढेको व्यापारीहरुले बताएका छन् । 

तिहारमा दिदीबहिनीले दाजु भाइलाई टिका लगाइदिएपछि भाईमसाला दिने चलन छ । पछिल्लो समय बजार पाइने रेडिमेट मसला अत्याधिक प्रयोग हुने गरेको छ । 

तर, गत असोजमा आएको बाढीपहिरोले यो वर्ष भाइमसालाको मूल्य बढेको व्यापारीहरुको भनाई छ । काठमाडौँको असनमा वर्षौदेखि व्यापार गर्दै आएका व्यापारीहरु यो पटक अचाक्ली मूल्यवृद्धिले उपभोक्ताहरुले थोरै परिमाणमा सामान खरिद गरिरहेको बताउँछन् । 

भाइमसालाको पुस्तौनी व्यापार गर्दै आएका असनका व्यापारी सजिव बज्राचार्यले मूल्य बढेसँगै व्यापार घटेको सुनाए । 

‘पोहोरभन्दा यसपालि ड्राईफुड मसला करिब ३० प्रतिशतले महँगिएको छ । अस्ति असोजमा नेपालसँगै पाकिस्तान र भारतमा पनि आएको बाढीपहिरोका कारण यस्तो भएको हुनसक्छ,’ उनको अनुमान छ, ‘यसपालि मसलाको भाउ निकै बढेको छ, पोहोर सालको तुलनामा । त्यही भएर मानिसहरुले एफोर्ड गर्न सक्दैन । पोहोर एक किलो लिने मानिसले यस पटक आधा किलो मात्रै दिनुस् भन्छन् ।’   

यता, ग्राहकहरुले पनि मूल्य निकै बढेको गुनासो गरेका छन् । बजारमा यो वर्ष प्रतिकेजी काजु दुई हजार दुई सय, बदाम एक हजार सात सय, किसमिस छ सय, कालोदाख एक हजार, ओखर पाँच सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । 

त्यसैगरी, ओखरगुढी एक हजार पाँच सय, अनजिर दुई हजार दुई सय, खुरपानी एक हजार, जरिवल पाँच सय ५०, दाना मिश्री एक सय ८०, धागो मिश्री दुई सय, मखना दुई हजार, र दालचिनीको आठ सय रुपैयाँ प्रतिकेजी मूल्य रहेको छ ।

टिप्पणीहरू