सरकारी नियन्त्रणको चामल खाने कुन मुसा पर्‍यो ?

सरकारी नियन्त्रणको चामल खाने कुन मुसा पर्‍यो ?

केही महिनाअघि मात्रै भैँसीले बाघ मारेको भनेर भाइरल भएको मकवानपुरको मनहरी गाउँपालिकामा अनेक अनेक आश्चर्य दोहोरिरहन्छन्  । माछा र तामाका लागि प्रख्यात मनहरी बजारमा यस्तै अर्को आश्चर्य थपिएको छ अहिले  । असोज ६ गते जिल्ला प्रशासन कार्यालय, मनहरी गाउँपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, प्रहरीसमेतको संयुक्त अनुगमन टोलीले ‘कैफियत’ देखिएको ६० बोरा चामल सिल गरेकामा एकाएक चामल गायब भएपछि होहल्ला मच्चिएको छ  । 

यहाँस्थित मंगलयम ट्रेडर्सको अनुगमनका क्रममा ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राइस मिलबाट उत्पादित ७ बोरा गरी ६० बोरा अनुगमन टोलीले सिल गरेर फर्केको थियो  । बोराहरूमा उपभोग्य मिति र उत्पादन मिति उल्लेख नभएको, ब्याच नदेखिएको लगायतका कारणले उक्त परिमाणको खाद्यान्न अर्को सूचना नभएसम्म नचलाउनू भन्ने निर्देशन थियो  । 

तर, व्यवसायीले चलाखीपूर्वक असोज २२ गते मनहरी गाउँपालिका ७ का वडा सदस्य नवराज सुवेदीलाई उपयोग गरी चामल अन्यत्रै पठाएको खुलेको हो  । वडा सदस्यलाई सोधेर चामल सम्बन्धित मिलमै फिर्ता गरिएको ट्रेडर्सका प्रतिनिधि ज्योति साहले बताए  । 

यो कुरा त्यतिखेर खुल्यो, जब पुनः सोही टोली खाद्य जाँचका लागि प्रयोगशालामा चामल लैजानुपर्‍यो भन्दै आइपुग्यो  । टोली पुरानो चामल खोज्न आउँदा फेला नपरेपछि होहल्ला मच्चिएको हो  । टोलीले कारबाहीका लागि मनहरी गाउँपालिकालाई लिखित मुचुल्का उठाएर गएको छ  । 

कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाका प्रमुख बजारको रूपमा रहेको मनहरीमा स्वास्थ्यमा खेलवाड गर्नेगरी जंक फुडको हब बनाउने, मिति सकिएका सामग्रीहरू बेच्ने, ब्राण्ड नै नसुनिएका नक्कली सामानहरू बिक्री गर्नेगरेका घटना वर्षौंदेखि हुँदै आएको पाइन्छ  ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू