छठमा केराको दाम अचाक्ली

छठमा केराको दाम अचाक्ली

तराई-मधेशमा भव्यतापूर्वक मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज नहाय खाय मनाइँदै छ । 

आजको दिन व्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । 

छठमा केरा तथा नारिवल लगायतका फल अनिवार्य पूजा सामाग्रीका रुपमा प्रयोग गरिन्छ । त्यसैले प्रत्येक वर्षजस्तै यसवर्ष यस पटक पनि तराइका विभिन्न जिल्लाका फलफूल मण्डीमा केरा किन्नेहरुको भीड लागेको छ । 

जनकपुरधामका प्रमुख बजारमा पनि केही दिनयता केरा किन्नेहरुको खपिनसक्नु भीड छ । यद्यपि अन्य वर्षहरुभन्दा महँगो मूल्यमा श्रद्धालुहरु केरा किन्न बाध्य छन् । गत वर्षको तुलनामा यसपटक दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरुको छ । 

भारतबाट आयात रोक लगाएकाले केराको अभाव भएको जनकपुरधामस्थित फलफूल व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेले बताए । उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केरा आयात गरिएको थियो भने यो वर्ष भन्सारमा रोक लगाइएकाले ६० ट्रक केरा भित्रिएको छ । जसका कारण भाउ बढेको पूर्वे बताउँछन् । 

जनकपुरधाममा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात हुँदै आएको थियो । यस वर्ष नवलपरासीको त्रिवेणीबाट मात्रै केरा बढी मात्रामा आयात गरिएको छ । 

छठका लागि केरा किन्न पुगेका उपभोक्ता भन्छन्, 'पहिला पहिला ३ सयदेखि ५ सय रुपैयाँमा केरा किन्न पुग्थ्यो । तर यस वर्ष कम्तीमा ८ सयदेखि १ हजार रुपैयाँसम्म केरा खरिदमा खर्चिनु परिरहेको छ ।'

टिप्पणीहरू