सैनिक क्याम्पभित्रै करेन्ट लागेका लेसनायकको निधन
नेपाली सेनाका लेसनायक पदमबहादुर दियालको करेन्ट लागेर निधन भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत २९ वर्षीय उनको आज करेन्ट लागेर प्राण गएको हो ।
क्याम्पभित्र सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा दियाललाई करेन्ट लागेको मकवानपुर प्रहरीले जनाएको छ । करेन्ट लागेर डँडेलधुराको अमरगढी नगरपालिका–२ का २९ वर्षीय विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ का २१ वर्षीय युवराज कुमाल घाइते भएका छन् ।
केसी सेनाको लेसनायक र कुमाल सिपाही पदमा कार्यरत रहेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारार्थ हेलिकप्टरमा छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ । मृतकको शव परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ ।
टिप्पणीहरू