सरकारले राम्रो काम गरेको छ : एमाले उपमहासचिव
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको उनले बताए ।
एमाले रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई तम्घासमा सम्बोधन गर्दै ज्ञवालीले चार महिनाको अवधिमा सरकारले धेरै राम्रा काम गरेको जिकिर गरे । राजनीतिक अस्थिरता अन्त्य गर्दै अर्थतन्त्र सुधार्न सरकार प्रयासरत रहेको उनको भनाई छ ।
सुशासन कायम गर्ने कुरामा पनि सरकारले उपलब्धिपूर्ण काम गरिरहेको ज्ञवालीको दाबी छ । राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकारको तारिफ गरे ।
आफ्नो पार्टी सत्तामा वा प्रतिपक्षमा रहँदा सँधै जनताको पक्षमा उभिएको बताउँदै ज्ञवालीले अहिले पनि सरकारले त्यसैगरी काम गरिरहेको सुनाए । कानुनको नजरमा सबै बराबर हुने भएकाले गल्ती गर्नेले छुट नपाउने उल्लेख गर्दै रवि लामिछाने पक्राउ प्रकरणमा उनले सरकारको बचाउ गरेका छन् ।
टिप्पणीहरू