पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त माग
पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया शुरु भएको छ ।
'उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समिति'ले आज सार्वजनिक सूचना निकालेर दरखास्त मागेको हो । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेखित ढाँचामा दश दिनभित्र आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।
‘यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले दश दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरिएको छ,’ सूचनामा उल्लेख छ ।
अनलाइन माध्यमबाट दरखास्त पेश गर्ने व्यक्तिले मन्त्रालयको वेबसाइटमा दिएको लिङ्कमा गई आवेदन दिन सक्ने जनाइएको छ ।
विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्रीको अध्यक्षतामा गठित छनोट तथा सिफारिस समितिको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।
टिप्पणीहरू