विदेश जाने कर्मचारीको विवरण खोजिँदै

विदेश जाने कर्मचारीको विवरण खोजिँदै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैदेशिक तालिम तथा अध्ययन भ्रमणका लागि छनोटमा परेका कर्मचारीको विवरण संकलन गर्न लागेको छ । 

प्रधानमन्त्री कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा वैदेशिक अध्ययन, तालिम तथा अध्ययन भ्रमणका लागि मनोनयन भएका कर्मचारीको तथ्यांक खोजेको हो । सबै मन्त्रालय, आयोग र सचिवालयलाई परिपत्र गर्दै कार्यालयले आगामी दुई दिनभित्र विवरण उपलब्ध गराउन भनेको छ । 

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल सरकारका विभिन्न निकायबाट मनोनयन भई वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन भएका कर्मचारीको विवरण माग भई आएकोले तहाँबाट यस आव २०८१–०८२ मा वैदेशिक अध्ययन, तालिम तथा अध्ययन भ्रमणका लागि मनोनयन भएका कर्मचारीको विवरण दुई दिनभित्र पठाउनुहुन निर्णयानुसार अनुरोध छ’, परिपत्रमा उल्लेख छ । 

कर्मचारीको नाम, पद, कार्यरत निकाय, भ्रमणको उद्देश्य वा विषय, भ्रमण गर्ने वा गरेको देश र भ्रमण अवधि उल्लेख गरी मन्त्रालयको मानव संशोधन योजना शाखा वा इमेल ठेगानामा पठाउन भनिएको छ ।

टिप्पणीहरू