त्रिभुवन राजपथ केही दिन बन्द

त्रिभुवन राजपथ केही दिन बन्द
सुन्नुहोस्

काठमाडौं–हेटौंडा जोड्ने त्रिभुवन राजपथअन्तर्गत सिस्ने खोला क्षेत्रमा यातायात बन्द हुने भएको छ । सडक विस्तारको काम शुरु हुने भएकाले भोलिदेखि मंसिर ९ गतेसम्म आंशिक रुपमा यातायात बन्द गर्न लागिएको हो । 

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म २० मिनेट दुवैतर्फ आवागमन बन्द गरिने र त्यसलगत्तै पुनः २० मिनेट खुल्ने गरी यातायात संचालनको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

त्यसदौरान सवारी रोक्दा र चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन पालना गर्न तथा जथाभावी ओभरटेक नगर्न सिडिओ कार्यालयले सचेत गराएको छ । 

‘त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ्ग कार्य गर्नुपर्ने भएकोले मिति २०८१–०७–२९ गतेदेखि मिति ०८१–०७–०९ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको अवधिमा सडक २० मिनेट दुवैतर्फ बन्द रहने र त्यसलगत्तै पुनः २० मिनेट खुल्ने गरी आंशिक रुपमा बन्द हुन गइरहेकोले सो दौरान रोकिने सवारीसाधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न अनुरोध छ,’ सूचनामा उल्लेख छ । 

अटेरी गरेर त्यस्तो कार्य गरेको पाइएमा नियमानुसार कडा कारबाही गर्ने चेतावनी दिइएको छ । साथै, उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।
 

टिप्पणीहरू