युवा पलायनपछि वृद्धवृद्धासँगै महिला र बालबालिका जोखिममा

युवा पलायनपछि वृद्धवृद्धासँगै महिला र बालबालिका जोखिममा
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पीडितहरुलाई न्याय दिनुपर्ने बताउनुभएको छ । उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

अजरबैजानको रावधानी बाकुमा सोमबारदेखि शुरु भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप—२९) का क्रममा आज आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गर्नुभएको हो । उच्च पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्वन उत्सर्जनका कारण भएको उहाँको धारणा छ ।

जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिवब महिला, बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित बनेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । कोप २९ जलवायुजन्य पीडितलाई न्याय दिन सफल हुने विश्वास राख्दै जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्दै गएकाले पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उहाँको भनाइ छ । 

गत अगस्टमा नेपालको सगरमाथा क्षेत्रमा हिमताल फुट्दा थामे गाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौंको हानीनोक्सानी व्यहोर्नुपरेको सन्दर्भ उल्लेख गरिएको छ । त्यस्तै मनसुन सिजनमा आएको वाढी पहिरोमा नेपालका पाँच सय बढी नागरिकले जीवन गुमाउनु परेको बताइयो । राष्ट्रपतिले भन्नुभयो, ‘यसको पीडा अझै छ, आउँदा दिनमा यो समस्या अझ बल्झिने छ र विकराल अवस्था सृजना गर्नेछ भन्ने आकलन अहिले नै गरेनौँ र उपयुक्त सावधानी लिएनौँ भने भोलि अझ बढी हानिनोक्शानी व्यहोर्नुपर्ने छ ।’

यसबीच राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच जलवायु परिवर्तनबाट देखिएको समस्या समाधानका बारेमा कुराकानी भएको छ  । कतारको दोहाबाट बाकु जानेक्रममा भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका बारेमा छलफल भएको जनाइएको छ । 

सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

टिप्पणीहरू