महिन्द्र रायको भोट माओवादीलाई, ढकालले एमाले नछोड्ने

महिन्द्र रायको भोट माओवादीलाई, ढकालले एमाले नछोड्ने
सुन्नुहोस्

नेपाल समाजवादी पार्टी (नेसपा)को बिद्रोही समूहले स्थानीय तहको उपचुनावमा नेकपा माओवादी केन्द्रलाई सघाउने भएको छ । 

संघीय सांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादव नेतृत्वको सो पार्टीले माओवादी केन्द्रका उम्मेदवारलाई पूर्णरुपमा सहयोग गर्ने निर्णय गरेको हो । माओवादीको उम्मेदवारी रहेका वडा र पालिकामा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्ने महासचिव रमेश यादवले जानकारी दिए । 

‘स्थानीय तहको उपनिर्वाचनमा हाम्रो पार्टी माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर सहभागी हुँदैछ, माओवादी उम्मेदवार रहेका पालिका र वडाहरुमा हाम्रो पार्टीको पूर्ण सहयोग रहनेछ’, उनले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् । 

गत आमनिर्वाचनमा माओवादी केन्द्रको चिन्ह लिएर निर्वाचनमा सहभागी भएको नेसपाबाट महिन्द्र राय यादव सांसद निर्वाचित भएका थिए । त्यसबेला पार्टी एकताको शर्तमा सिंगो नेसपाले माओवादीसँग मिलेर चुनाव लड्ने निर्णय गरेको थियो । तर, चुनावपछि बाबुराम भट्टराई पार्टी एकीकरणको सहमतिबाट पछि हटेको भन्दै अध्यक्ष यादव, सहअध्यक्ष गङ्गानारायण श्रेष्ठसहितको ठूलोपंतिले बिद्रोहगरी नयाँ दल गठन गरे । सो पार्टी छिट्टै माओवादीसँग एकता गर्ने तयारीमा छ। 

यता, ह्वोलिवान उपनामले चिनिएका एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले एमालेलाई समर्थन गर्ने निर्णय गरेको छ । परिवार दलको अध्यक्ष भैकन एमालेबाट समानुपाति सांसद बनेका उनले फेसबुकमा स्टाटस लेखेर एमालेलाई सघाउने जानकारी गराएका हुन् । 

नेपालमा भन्दा बढी विदेशमा हुने र दुई दिनअघि कम्बोडिया पुगेका ढकालले उतैबाट फेसबुकमा लेखेका छन्, 'नेपाल परिवार दलले यहि मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमालेका सक्षम उम्मेदवारहरुलाई समर्थन गरेको छ । सूर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऊन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक अपिल गर्दछ ।'

ढकालको दलले पछिल्ला दुई उपनिर्वाचनमा पनि एमालेका उम्मेदवारलाई भोट हाल्ने निर्णय गरेको थियो । यो पार्टीको चुनावी परिणाम फेरबदल पार्ने तहको प्रभावकारिता भने छैन ।
 

टिप्पणीहरू