यसकारण बाँचुञ्जेल उनी सँधै बेचैन

यसकारण बाँचुञ्जेल उनी सँधै बेचैन

- वशिष्ठ शर्मा

२०५० असोज १ गते जतिबेला दमननाथ ढुंगाना सभामुख थिए त्यतिबेला गिरिजा कोइराला निकट भनेर चिनिने काँग्रेसको एउटा खेमाले ढुंगानाविरुद्ध ‘कुर्सीकाण्ड’ को रचना गर्यो । संसद्को वर्षे अधिवेशन सकिएपछि संसदमा चियापान कार्यक्रम आयोजना गरिएको थियो । चियापान सभामुख ढुंगाना र राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीले संयुक्त रुपमा आयोजना गरेका थिए । 

चियापानमा तत्कालीन राजारानी र राजपरिवारका सदस्य, विपक्षी दलका नेता, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहदेखि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्म सहभागी थिए । त्यही चियापानलाई गिरिजा समूहले ढुंगानालाई सिध्याउने मौकाका रुपमा प्रयोग गरेको आरोप लागेको थियो ।

सभामुख ढुंगानाले राजीनामा दिनुपर्नेसम्मको दबाब सो खेमाबाट आएको भनिन्छ । जलपानमा सभामुखले प्रधानमन्त्री कोइरालालाई कुर्सी नराखिदिएको निहुँमा विरोध चर्काइयो । राजा, रानी, युवराज र सभामुखका निम्ति सोफा राखिएको थियो भने तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह पनि त्यहाँ उपस्थित थिए । 

तर प्रधानमन्त्रीका लागि कुर्सी नराखिएको विषयलाई कोइराला पक्षले ढुंगानाको ‘षडयन्त्र’ का रुपमा अथ्र्याए । निर्वाचित प्रधानमन्त्रीलाई संवैधानिक मर्यादाअनुरूप कुर्सी नदिइएको लाञ्छनालाई निकै चर्काइएको थियो ।

उक्त आरोपले ढुंगानालाई लामो समयसम्म सताइरह्यो । सभामुख  जिवित छँदा उक्त दिनको घटनाबारे भन्ने गर्थे, ‘अतिथिका लागि कुर्सी र सुरक्षाको जिम्मा सेनाले लिएको थियो । चियापान हुनु अघिल्लो दिन सेनापतिले चियापान कार्यक्रम तयारीको अवलोकन गरेका थिए भनिन्छ । सेनाले नै सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा लिएको थियो । कुर्सीको व्यवस्था सेनाले गरेका कारण आफ्नो कुनै भूमिका थिएन ।’

वास्तवमा त्यो विषय सामान्य रहेकोमा काँग्रेसकै एउटा पक्षद्वारा ‘असामान्य’ बनाइएको अर्को पक्षको भनाई रहँदै अयो । सेनाले प्रधानमन्त्री गिरिजाप्रसादका लागि किन कुर्सीको व्यवस्था गरेन ? भन्ने प्रश्न आजसम्म निरुत्तरित छ । 

सायद सभामुख अतिथि सत्कारमा व्यस्त रहेका कारण हेर्न भ्याउने अवस्था पनि थिएन । कुर्सीको बहाना उचाल्दै आसेपासेहरु बालुवाटार पुगेर कोइरालालाई सकेको उछाले । गिरिजालाई अपमान गरिएको ढुंगानामाथि ‘ब्लेम’ लगाइयो । 

त्यसैले चियापानपछि बालुवाटारमा ढुंगानाविरुद्ध षड्यन्त्र रचियो । यो सबै कामको योजनाकारका रुपमा ढुंगानाले राजीनामा दिनुपर्ने भनियो । कांग्रेसको तत्कालीन संसदीय दलले उक्त प्रकरणलाई अमर्यादित घटना बताउँदै खेद व्यक्त गरेको थियो । 

संसदीय दलको बैठकमा आफ्नै सभामुखमाथि सांसदहरु उग्ररुपमा प्रस्तुत भए । सभामुखसँग स्पष्टीकरण माग्दै छानबिन गर्ने निर्णय नै गरियो । ढुंगानालाई सभामुखबाट राजीनामा दिने चरणसम्म पुर्याउने भएपछि प्रधानमन्त्री कोइराला स्वयम्, सर्वोच्च नेता गणेशमान सिंह, नेता महेन्द्रनारायण निधिलगायतले उक्त प्रकरणलाई अगाडि बढ्न नदिने भएपछि कुर्सी प्रकरण एकाएक ‘रहस्यमय’ बनेको हो । त्यही रहस्यमय घटनाले ढुंगानालाई सधैं बेचैन बनाएको थियो ।
 
वास्तवमा ढुंगानाले संसदीय अभ्यासलाई मर्यादित बनाउन हरसंभव सक्रियता देखाएका थिए । विपक्षीले समेत उनको सभामुखको भूमिकाको प्रशंसा अहिले पनि गर्छन् । 

ढुंगानामाथि काँग्रेसले लगाएको अर्को अनर्गल ‘ब्लेम’ द्वन्द्वकालमा ‘माओवादी’ बनेको भन्ने छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मानवअधिकारवादीको भूमिकामा ढुंगाना र पद्यमरत्न तुलाधरले मध्यस्थकर्ताका रुपमा खेलेको भूमिका विशेष सम्झनलायक छ । ढुंगानाले २०१७ सालको शाही ‘कु’ पछि लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि लामो संघर्ष छेडेको घटना इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । 

२०६२/०६३ को आन्दोलन र गणतन्त्र स्थापनामा ढुंगानाले नागरिक समुदायको नेतृत्व गरेका थिए । माओवादीको चरम द्वन्द्वका बेला माओवादी नेता र सम्पर्क सूत्रसँग निकट रहेर मध्यस्थकर्ता र सहजीकरण गरेकै कारण उनीमाथि ‘माओवादी’ बनेको लाञ्छना लगाइयो । 

काँग्रेस महासमिति सदस्य समेत रहेका ढुंगानालाई २०७४ को आम निर्वाचनमा भक्तपुर–२ बाट काँग्रेसले नै चुनावी प्रतिस्पर्धामा अघि सार्यो । उक्त चुनावमा पराजित भएपछि उनको राजनीतिक सक्रियता घट्यो । लामो जेलनेल खेपेका, पार्टीको पहलमा २०४८ सालमा सभामुख बनेका व्यक्तिलाई निच आरोप लगाइएको थियो । ती मिथ्या आरोपले ढुंगानालाई बाँचुञ्जेल घोचिरहेको थियो । आफू निर्दोष रहेको बारे उनले सँधै सफाइ दिँदै हिँड्नुपर्यो ।

टिप्पणीहरू