वायु प्रदूषणले यता पनि गम्भीर रुप लिँदै
काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएपछि वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वाससँग सम्बन्धित बिरामी, गर्भवती महिलाहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
नेपालमा विशेषगरी मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको छ । विगत केही हप्तादेखि तराई क्षेत्रलगायत उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । विभागका अनुसार वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ्य तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ ।
वायु प्रदूषणको मुख्य कारक उद्योग, कलकारखाना, सवारीसाधनबाट निस्किने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो हुने गरेको छ । वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर, कृषिजन्य अवशेषहरु नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग, कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न विभागले अनुरोध गरेको छ ।
भारतको राजधानी नयाँ दिल्ली र पाकिस्तानको लाहोर शहरमा वायु प्रदूषणले भयावह रुप लिएको छ । नयाँ दिल्लीमा विद्यालय बन्द गरिएको छ भने कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएको छ । लाहोरमा गत साता लकडाउन गरिएको थियो ।
टिप्पणीहरू