निजी क्षेत्रलाई सम्मानपूर्वक अवसर दिन आग्रह

निजी क्षेत्रलाई सम्मानपूर्वक अवसर दिन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् । 

सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्छ ।’

यस्तै, व्यवसाय दर्ता, नवीकरण र राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्ने उनको माग छ । उनले साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको पनि जानकारी दिए । 
नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नती हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको अध्यक्ष ढकालले टिप्पणी गरे । निजी क्षेत्र रणनीति बनाउन तयार रहेको दाबी गर्दै उनले सन् २०२१ मै यससम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको पनि स्मरण गराए ।

विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरुले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उनको ठहर छ । उनका अनुसार कर्जाको कम मागका कारण बजारमा चहलपहल छैन भने उद्यमीहरु लगानी गर्न हतोत्साहित भएका छन् । 

महासंघद्वारा गरिएको दशैं–तिहारलक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशतसम्म घटेको देखाएको पनि उनले जानकारी दिएका छन् । उनले अहिले अर्थतन्त्र स्थिर भएपनि सानो झटकाले जोखिम बढाउन सक्ने बताए । 

‘हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भएपनि सानो झटकाले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ,’ अध्यक्ष ढकालले भने । यद्यपि, महासंघको पहलमा गठन गरिएको उच्चस्तरीय आयोगबाट अर्थतन्त्रमा सुधार आउने ढकालको विश्वास छ ।

 

 

टिप्पणीहरू