प्रधानमन्त्री ओलीलाई स्वागत गर्न अर्का ओली कुर्सीमा

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न अर्का ओली कुर्सीमा

मित्रराष्ट्र चीनका लागि नवनियुक्त राजदूत प्रा.डा. कृष्णप्रसाद ओली राजधानी बेइजिङ पुगेर नेपाली दूतावासस्थित कुर्सीमा बस्नुभएको छ । उहाँ एअर चाइनाको उडान नम्बर सिए ४३८ मा अस्ति साँझ पौने ६ बजे काठमाडौंबाट सिचुआन प्रान्तको राजधानी छन्तुको तिआनफु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बेइजिङ पुग्नुभएको थियो । 

राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आइतबार अपरान्ह शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली आगामी १७ गते चीन जाने तयारी छ । त्यसअघि राजदूत ओली बेइजिङस्थित दूतावास पुगेर आफ्नो कुर्सीमा बस्नुभएको हो ।

राजदूतावासभित्र जिम्मेवारी सम्हाले पनि उहाँले चीनका राष्ट्रपति सि चिनफिङसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्न भने बाँकी नै छ । चीनमा वर्षको दुई पटक मार्च–अप्रिल र सेप्टेम्बर–अक्टोबर महिनामा मात्र ओहोदाको प्रमाणपत्र बुझाउन विशेष समारोहको आयोजना गरिन्छ । त्यसअघि कुनै पनि राजदूतले चीन पुगी त्यहाँको परराष्ट्र मन्त्रालयस्थित प्रोटोकल विभागमा ओहोदाको प्रमाणपत्रको प्रतिलिपि बुझाएपछि काम गर्न पाउने व्यवस्था छ ।

गत भदौ १६ गते भएको संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूत ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङको पुनः नेपाल भ्रमण गराउन प्रयास गर्ने बताउनुभएको थियो । संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उहाँले आफू राजदूत बनेमा दुवै देशका राष्ट्र प्रमुखहरुको भ्रमण–आदान प्रदानको व्यवस्थापनमा लागिपर्नेबारे बेलिबिस्तार सुनाउनुभएको थियो ।

टिप्पणीहरू