निर्मलाको न्यायका लागि लड्ने सुखरानीको निधन, उधारोमा निकालियो शव

निर्मलाको न्यायका लागि लड्ने सुखरानीको निधन, उधारोमा निकालियो शव

बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै लामो समय राजधानीमा आन्दोलनरत अधिकारकर्मी सुखरानी चमारको निधन भएको छ । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । 

निर्मलाको न्यायका लागि बाँकेबाट हिँडेर काठमाडौं आएकी उनलाई माइतीघर मण्डलामा धर्नाको क्रममा निमोनिया भएको थियो । तीन महिने लामो आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी उनको शव उठाउन समस्या भएको थियो । 

नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत उनको बिहान सवा ३ बजे मृत्यु भए पनि केही बेरअघि मात्र शव उठाइएको छ । अस्पतालबाट उधारोमा शव निकालिएको आन्दोलनको नेतृत्वकर्ता रुबी खानले बताइन् ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत उनको बिहान सवा ३ बजे मृत्यु भए पनि केही बेरअघि मात्र शव उठाइएको छ । 

दाहसंस्कारको तयारी भइरहेको उनले जानकारी दिइन् । अस्पतालको शुल्क तिर्न नसकेपछि सहयोगका लागि अपिल गरेकी थिइन् । तर,थोरै मात्र सहयोग जुटेको उनको भनाइ छ । 

‘आन्दोलनमा सहभागी सबै निम्न घरपरिवारका हुन् । हामी माइतीघरमा आन्दोलनरत हुँदादेखि नै उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो । बाँके पुग्दा स्वास्थ्यमा धेरै नै समस्या भएपछि आइसीयुमा भर्ना गर्यौं । तर, उपचार खर्चको अभाव भयो । औषधी उधारोमा ल्याएका थियौं । उहाँको निधन भएपछि शव निकाल्न पनि समस्या भयो । अस्पतालले केही छुट दिएको छ तर अझै पैसा तिर्न बाँकी छ’,उनले गुनासो पोखिन् । 

सरकारले सहमति कार्यान्वयनमा चासो देखाएको भए आज यो दुःखद् घडीको सामना गर्नुपर्ने अवस्था नै नआउने रुबी बताउँछिन् । भन्छिन्,‘सरकारले सम्झौता कार्यान्वयन गरिदिएको भए सडकमा आउनुपर्दैनथ्यो । उहाँलाई निमोनिया नै हुँदैन थियो होला । उहाँको मृत्यु एक किसिमको हत्या नै हो ।’

उनीहरु गत जेठ २५ गतेदेखि धर्नामा बसेका हुन् । आन्दोलनका क्रममा रुबीलाई पनि डेंगु र टाइफाइड भएको थियो ।
 

टिप्पणीहरू