माननीयमाथि महिलाको बात, नबिलको लामो हात
एमाले सांसद तथा प्रभु बैंकसम्बद्ध प्रभु ग्रुप मातहत विभिन्न कम्पनीका पूर्वअध्यक्ष देवीप्रसाद भट्टचनमाथि एउटी महिलाले गम्भीर आरोप लगाएकी छन् । विगतमा उनै देवीद्वारा सबै ठाउँमा अगाडि सार्दै माथि पुर्याइएकी कुसुम लामाले करोडौं अपचलनको बात लगाएपछि मामिला ‘पेचिलो’ बन्दै गएको छ ।
एमाले सांसद भट्टचनविरुद्ध विगतकी घनिष्ठ मित्रले २७ करोड रूपैयाँभन्दा बढी ठगेको आरोप लगाएकी हुन् । प्रभु म्यानेज्मेन्टकी अध्यक्ष कुसुम लामाले राष्ट्र बैंकलगायत विभिन्न निकायमा उक्त ठगीबारे उजुरी र बोधार्थ दिएर अहिले स्वयं विभिन्न सहकारीलाई झण्डै ३० करोड रूपैयाँ भुक्तानी गर्नुपर्ने झमेलामा पुगेपछि सम्पर्कमा रहन छाडेकी छन् ।
बैंकिङ क्षेत्रका चर्चित ‘लैला मजनु’ मध्येमा पर्ने उनीहरूबीचको सम्बन्ध एक वर्षदेखि पानी बाराबारको अवस्थामा थियो । भटट्चन निकटस्थहरूले कुसुमले ‘ब्ल्याकमेलिङ ’गरेको आरोप लगाएका छन् । उता, लामाका आफन्तहरुचाहिँ देवीले उनको धनसँगै ‘सर्वश्व लुटेको’ भन्ने गर्छन् ।
प्रभु म्यानेज्मेन्टको अध्यक्ष पहिले भट्टचन थिए । पछि लामालाई बनाइयो । कुनै समय भट्टचन प्रभु बैंकको अध्यक्ष थिए भने लामा सञ्चालक । भदौ २६ गते लामाले हालेको उजुरी सम्बन्धमा राष्ट्र बैंकको गुनासो सुनुवाई इकाइका कर्मचारीले भेटघाट गरेका थिए । लामाका कतिपय गोप्य गुनासा सुन्न उपस्थित एक जना कर्मचारीले जिब्रो टोक्दै भने,‘ती महिलाले लगाएको आरोप सुन्दा जिउ नै सिरिंग भयो । देवीसँग प्रारम्भको बेजोड सम्बन्धदेखि अहिलेको तिक्ततापूर्ण अवस्थालाई आर्थिक लेनदेनसँगै उमेर र राजनीतिसँग पनि जोडेर हेर्नुपर्ने देखियो ।’
यता, कांग्रेस सांसद तथा विवादास्पद व्यवसायी विनोद चौधरीले आफ्नै पेवा ठान्दै आएको नबिल बैंकको ठगीबारे राष्ट्र बैंक, बालुवाटारमा उजुरीको चाङ लागेको छ । विभिन्न कम्पनीले तोकेको समय व्यतित भइसक्दा पनि बैंक ग्यारेन्टीको रकम रिलिज नगरेपछि गभर्नरको कार्यालयस्थित गुनासो सुनुवाइ इकाइमा उजुरी परेको हो । राष्ट्र बैंक स्रोत भन्छ, ‘म्याद सकिएपछि पनि बैंक ग्यारेन्टी रिलिज नभएको जनाउँदै नबिलविरुद्ध दुई दर्जन बढी उजुरी परेको छ ।’ महिनौंको प्रयासपछि त्रिशूली ३ बी जलविद्युत् परियोजनाको करोडौंको बैंक ग्यारेन्टी दशैंअघि बल्लतल्ल भुक्तानी भएको छ । अझै २८ वटा कम्पनीले आफ्नो रकम नपाएको जनाउँदै नबिल र राष्ट्र बैंक धाउने क्रम जारी छ ।
बैंक ग्यारेन्टीको अर्बौं रूपैयाँ रिलिजमा नबिलका अधिकारीले भने आफूलाई पानीमाथिको ओभानो देखाउन खोजेका छन् । त्यसलाई नबिलमा मिसिएको तत्कालीन नेपाल बंगलादेश बैंकको समस्या भनेर टार्ने गरिएको छ । जबकि बंगलादेश बैंकका सिईओ ज्ञानेन्द्र ढुंगाना नै नबिलमा पनि सिईओ छन् । विनोद चौधरीले दुई वर्षे कार्यकाल पूरा गरेपछि पुनः दुई वर्षका लागि गत असारमा उनको म्याद थपिदिएका छन् ।
यसबीच, नबिलले मंसिर २७ गते साधारण सभा बोलाएको छ । गत वर्षझैँ यस पटक पनि चौधरीको चाहनामा सेयर लगानीकर्तालाई लाभांश रकम सबै नगदमा उपलब्ध गराउन लागिएको छ । मुलुकको परिस्थिति ठीक नभएको जनाउँदै सञ्चालक छोरा निर्वाणले हालैको बोर्ड बैठकमा राखेको नगद लाभांशको प्रस्ताव पारित भएको बुझिएको छ ।
बैंकले पोहोर ११ प्रतिशत र यो वर्ष १० प्रतिशतका दरले लाभांश प्रदान गर्दैछ । चौधरीको एकाघरमा पोहोर पौने तीन करोड गएको नगद लाभांश यो वर्ष साढे दुई करोड पुगेको छ । बंगलादेशस्थित एनबी इन्टरनेशनलको नाममा चौधरीले समेत पाउने अघोषित लाभांश ढाका हुँदै विदेशी मुद्रामा जाने क्रम साढे दुई दशकदेखि यथावत् छ । २०७७ मा गभर्नर महाप्रसाद अधिकारीले डलरमा ढाका लैजाने गरिएको लाभांशको भित्री रहस्य केलाएपछि केही समय तनावमा परेका चौधरी सेटिङमा काम फत्ते गरसँगै २०७८ देखि ढुक्क छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू