गड्बडी गर्ने हेडसर जेल जाँदै
ज्ञानको मन्दिरमा बसेर गलत धन्दा चलाउने हेडसर अन्ततः जेल जाने भएका छन् । राजधानीको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयका प्रिन्सिपल गोपालबहादुर महतलाई लिखतसम्बन्धी कसूरमा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
काठमाडौं महानगरपालिका समेतले दायर गरेको मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले गत भदौ ७ गते सुनाएको फैसलाको पूर्णपाठ तयार भएको छ । जसमा भनिएको छ,‘प्रतिवादी गोपालबहादुर महतको बयान, उमेर, कसूरको प्रवृत्ति, पटके कसूरदार नरहेको समेतका आधारबाट निजलाई अभियोग दाबी मुलुकी अपराध संहिता, २७६ को (३)(ग) अनुसार कैद ६ महिना र जरिवाना रु. पाँच हजार हुने ठहर्छ ।’
के हो घटना ?
गत वर्ष कक्षा १२ को अन्तिम परीक्षा वैशाख १४ गतेबाट शुरु भयो । उनले १२ को परीक्षा दिने विद्यार्थीको प्रवेशपत्रमा गडबडी गरेका हुन् । पाँच जना विद्यार्थीको प्रवेशपत्रमा गोलमाल गरेका उनको कर्तुत तब बाहिर आयो । जब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी पर्यो । वैशाख २ गते परेको उजुरीमाथि छानबिन गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको प्रवेशपत्र शाखा पठायो । सो शाखाले काठमाडौं महानगरपालिकालाई अनुसन्धानका निम्ति पत्राचार गर्यो । सो क्रममा प्रवेशपत्रमा तलमाथि गरेको तथ्य फेला पर्यो ।
यता, आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै प्रहरी वृत्त, महाराजगञ्जमा लोकबहादुर भण्डारीसहितका विद्यार्थीले जाहेरी दिए । ‘एक वर्षअगाडि २०७९ ब्याचको प्रोलिफिक माविको कक्षा १२ पास भई अन्यत्र क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययनरत विद्यार्थी म निवेदक लोकबहादुर भण्डारीको फोटो दुरूपयोग गरी प्रोलिफिक प्रिन्सिपल महतले नक्कली प्रवेश पत्र बनाएकोले आवश्यक कानुनी कारबाहीको लागि अनुरोध गर्दछु,’ उजुरीपत्रमा उल्लेख छ ।
छानबिनका क्रममा गडबडी भेटिएका पाँच जना विद्यार्थीको प्रवेशपत्र बोर्डले रद्द गर्यो । जसमा सिम्बोल नम्बर २२७३३४०६ भएका विकेश न्यौपाने, २२७३३४०७ भएका दिपक महत, २२७३३४०९ भएका मुकेश चन्द, २२७३३४११ भएका प्रशान्त बिष्ट, २२७३३४१६ भएका तिलबहादुर महत रहेका छन् । रोचक प्रसंग त के भने प्रवेशपत्र रद्द गरिएकामध्ये दुई जना महतका भाइ हुन् ।
प्राप्त जानकारीअनुसार दुवै वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् । एउटा जापान र अर्को भारतमा रहेको बुझिएको छ । प्रवेशपत्रमा गडबडीजस्तो गम्भीर अपराध गरेका उनलाई प्रहरीले गत वैशाख १६ गते धुम्बाराहीबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले धरौटीमा छोडेपछि जेठ ११ गते लिखतसम्बन्धी कसूरमा मुद्दा दायर भयो । दर्ता नम्बर ०८०–सी १–९९७७ भएको मुद्दाको पूर्णपाठमा महतले इन्कारी बयान दिएको देखिन्छ ।
स्रोतका अनुसार उनले आफ्ना दुई बुढा भाइलाई १२ कक्षाको सर्टिफिकेट दिलाउन र पैसाको लोभमा परेर सो गैरकानुनी काम गरेका हुन् । उनका भाइ दिपकको जन्ममिति २०४७ भदौ ५ र तिलबहादुरको २०४६ माघ २ गते रहेको छ । अघिल्लो ब्याचको विद्यार्थीले सहजै परीक्षा पास गर्न सक्ने भएकाले उनीहरूको फोटो टाँसेर पठाएको महतले स्वीकारिसकेका छन् । उनले आफूबाट गल्ती भएको कबुल गरेर अनुसन्धानमा सहयोग पुर्याएको भन्दै अदालतले सजाय घटाएको देखिन्छ ।
‘कसूर स्वीकार गरी न्याय प्रदान गर्न सघाउ पुर्याएबाट अभियोग दाबीमा मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ (१)(२) अनुसारको कसूरमा उपदफा ३(ग) अनुसार सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ । तल्लो हद नतोकी तथ्य र कार्य कसूरलाई विचार गरी सजाय निर्धारण गर्न कानुनी मार्गदर्शन रहेको स्थिति समेतबाट यसपटक निजलाई न्यूनतम सजाय गर्दासमेत कानुनको पालना र निजले सुध्रिने मौकासमेत पाउने देखिन आयो’,आदेशमा उल्लेख छ ।
विद्याको मन्दिरमा बसेर अवैधधन्दा चलाउनेलाई कडा कारबाही हुनुपर्ने जानकारहरू बताउँछन् । ‘सार्वजनिक सरोकार र विद्याको मन्दिरमा बसेर यस्तो अवैध काम गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ’,एक अधिकारीले बताए ।
एकपछि अर्को बद्मासी
पैसा खाएर विद्यार्थीको प्रवेशपत्रमा गडबडी गरेकोजस्तो गम्भीर अपराधमा दोषी ठहरिएका प्रिन्सिपल महतका अनगिन्ती कमजोरी छन् । उनले विगतदेखि नै ‘फेक’ काम गर्दै आएको बताइन्छ । विद्यालयको सञ्चालक समितिमा रहेका अञ्जना महत र अञ्जिता महतको किर्ते हस्ताक्षर गरेर वार्षिक रिपोर्ट तयार पार्दै आएको स्रोतको दाबी छ । यी दुवै अहिले अष्ट्रेलियामा छन् । उनीहरूको ठाउँमा माइन्युटमा महतले नै हस्ताक्षर गर्छन् ।
काठमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रको विद्यालयमा ‘ईएमआईएस’ प्रणाली लागु गरेको छ । सबै विद्यालयले आफ्नो विद्यार्थीको रेकर्ड महानगरमा पठाउनुपर्ने हुन्छ । प्रोलिफिकको रिपोर्ट झुठ्ठो रहेको स्रोतको ठोकुवा छ । स्रोतका अनुसार कक्षा ११ मा भर्ना नै नभएका विद्यार्थीको मार्कसिट जारी गरिएको छ
नक्कली मार्कसिट भएका मुकेश चन्द र प्रशान्त विष्टले दोहोरो परीक्षा दिएका छन् । शैपाल माविबाट परीक्षा दिएका प्रशान्त प्रोलिफिकको विद्यार्थी होइनन् । तैपनि प्रोलिफिकबाट परीक्षा फारम भरेको देखिन्छ । यस गैरकानुनी धन्दामा विद्यालयका अन्य कर्मचारीको पनि संलग्नता भएको स्रोतको जिकिर छ ।
प्रिन्सिपल महत, सञ्चालक ललिता पाण्डे, लेखापाल भावना खड्का र कम्प्युटर शिक्षक सरोज न्यौपानेको यसमा प्रत्यक्ष संलग्नता भएको स्रोतले बतायो । शिक्षक न्यौपानेले नै हेरफेर गरी फोटो टाँसेको स्रोतको दाबी छ । विद्यालयका एक शिक्षकका अनुसार महतले एक विद्यार्थीबाट ५० हजार उठाएका छन् ।
ती शिक्षकले भने,‘यसमा महत, सञ्चालकदेखि लिएर केही शिक्षकको हात छ । उनीहरूले मिलेमतोमा परीक्षा फारम भराउँछन् ।’ कक्षा ११ मा भर्ना हुँदा जम्मा सात जना मात्रै विद्यार्थी थिए । तर, कक्षा १२ को परीक्षा दिँदा १२ जना पुगे । जसमध्ये पाँच जना नक्कली भएको छर्लङ्ग हुन्छ ।
महतविरुद्धको मुद्दामा थप अनुसन्धान भएमा ‘दूधको दूध, पानीको पानी’ हुने स्रोत बताउँछ । विद्यार्थी हाजिरी, नक्कली फारम, रसिद, विद्यार्थीको आधिकारिक हस्ताक्षर र नक्कली परीक्षार्थीको प्रवेशपत्रको जाँच गर्दा संलग्न जम्मैको कर्तुत छरपष्ट हुने स्रोतको भनाइ छ । उनीहरूमाथि संगठित अपराधमा मुद्दा चल्न सक्छ । उता, शैपाल माविमाथि पनि छानबिन हुनुपर्नेमा स्रोतको जोड छ ।
यता, दोषी ठहर भइसकेका प्रिन्सिपल महतको विद्यार्थीको रिपोर्ट कार्डदेखि लिएर प्रशासनिक कामहरूमा उनको हस्ताक्षर चलिरहेको छ । लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा पनि पार्टटाइम जागिर खाँदै आएका उनले त्यहाँ छोडिसकेको बुझिएको छ । आँशिक रुपमा पढाउँदै आएका उनले जागिर छोडेको झण्डै एक वर्ष हुन लागेको क्याम्पसको भौतिक विज्ञान विभाग संयोजक पिताम्बर श्रेष्ठले बताए ।
महानगरको शिक्षा अधिकृत नेत्रनारायण पौडेलले आफू यस विषयमा नबोल्ने बताए । भन्छन्, ‘अदालतमा पुगिसकेको मुद्दाको विषयमा महानगरले केही बोल्दैन । अदालतले जे आदेश गर्छ, त्यहीअनुसार हुन्छ ।’
टिप्पणीहरू