११ वर्ष सिआइबीमा कसरी टिकिन् एलिना

११ वर्ष सिआइबीमा कसरी टिकिन् एलिना
सुन्नुहोस्

– विद्या भट्टराई 

एउटा राष्ट्रसेवक प्रहरी उही कार्यालयमा ११ वर्ष एकै खालको जिम्मेवारीमा छन् भन्दा आश्चर्य लाग्न सक्छ । सोर्सफोर्स बिनाको सामान्य प्रहरी त्यसरी टिक्ने कुनै सम्भावना हुँदैन । तर, वरिष्ठ सई एलिना गुरुङ ०६८ सालदेखि अपराध नियन्त्रण र अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा छिन् । 

सिआइबीले काठमाडौँ उपत्यकाका तीनै जिल्लाका फरार प्रतिवादीबाट जरिवानाबापत बुझाइएको रकमको २५ प्रतिशत आफ्नो खातामा राख्ने र त्यसैबाट सिआइबीका हाकिम, हेडक्वार्टर र अख्तियारसम्मलाई पुर्‍याउने गरेको निकटस्थहरूलाई सुनाउने गर्छिन् । अदालतका कर्मचारीलाई फकाएर जरिवानाबापत प्राप्त रकम उनले आफ्नो व्यक्तिगत नाममा लिने र ७५ प्रतिशत सिआइबीको खातामा हाल्ने गरेकी छन् । वास्तवमा यस्तो रकम सिधै सिआइबीको खातामा राख्नुपर्ने हो तर सबैका भोका मुख टाल्न महानिरीक्षकको समेत सहमतिमा ११ वर्षदेखि यस्तो काम गरिरहेकी छिन् । 

२७ महिनाअघि परिवर्तित नाममा गुरुङको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ११००१००००१७७९१०४ र स्ट्याण्डर्ड चार्टर्डको खातासमेत उल्लेख गरेर उनले जरिवानाबापत बुझाइएको रकमको फेहरिस्तसहितको उजुरी अख्तियार र प्रहरी प्रधान कार्यालय पुग्यो तर कारबाही भएन ।

उल्टो त्यसरी बेनामे मुद्दा अख्तियार र प्रहरी हेडक्वार्टरमा दिएको भन्दै कतिपयको सातो लिइएको थियो । डिल्लीबजारको हुलाक वरपर सिसिटिभी फुटेज हेर्दा सिआइबीका प्रहरी वा चिनिएको कसैले हुलाकमा पोष्ट गरेको नभेटिएपछि एलिना आतंकबाट केहीले मुक्ति पाएका थिए ।

एलिनाले ब्रिटिश आर्मीमा रहेका एक आफन्तबाट बुट, बेल्ट हाकिमलाई दिएर पनि खुशी पार्ने गरेकी छन् । उनका श्रीमान् सशस्त्र प्रहरी हेडक्वार्टरमा लामो समय लेखा हेर्ने गर्थे । एलिनाले हल्चोकबाटै हाकिमहरूको गाडीमा डिजल, पेट्रोल हालिदिने गरेकी थिइन् । उनको अहिले काठमाडौँ सरुवा भएको छ । एलिनाले यस बीच कपनमा साढे तीन तले घर, बूढानीलकण्ठ, धादिङको गजुरी काभ्रेलगायत ठाउँमा आफू र आफन्तका नाममा जग्गा किनेको चर्चा प्रहरी वृत्तमा छ । काठमाडौँका नाम चलेका होटल रेष्टुरेण्टमा लगानी रहेको समेत बताइन्छ । 

राधा मताङगीबाट १ करोड ९० लाख, भीमबहादुर तामाङबाट एक करोड ८६ लाख, रामसुन्दर डंगोलबाट ३६ लाख७५ हजार, नवराज धिमालबाट २० लाख, दिलीपकुमार सिंहबाट २० लाख, समुन्द्रकेशरी केसीबाट १५ लाख, लभराज वलीबाट ९ लाख ६३ हजार, बिमला गिरीबाट ९ लाख ९५ हजार र श्यामबहादुर थापाबाट १५ लाख १९ हजार गरेर करिब पाँच करोड जरिवानाबापतको रुपैयाँ एलिनाले अदालतमार्फत् बुझेको देखिन्छ । त्यसको २५ प्रतिशत मात्रै पनि एक करोड २५ लाख हुन जान्छ । सिआइबी, प्रहरी प्रधान कार्यालय र अख्तियारलाई दिइएको उजुरीको यो रकम ०७९ सालका ठूला मुद्दामा जरिवानाबापतको रकम मात्र हो । १० वर्षमा यस्ता कति जरिवाना भएका होलान् सोझै अनुमान गर्न सकिन्छ । सो समयमा डिएसपी हालका एसपी कमल थापा पनि हर्ताकर्ता थिए । उल्लिखित विवरणमा सोही बेला जरिवाना असुलिएका सविना थापा, केदारनाथ मिश्र, इन्द्रबहादुर कुँवर, केदार गिरी, श्यामबहादुर थापाको नाम उल्लेख छैन । उनीहरूले पनि १२ देखि ६१ लाखसम्म तिरेका थिए । स्रोतका अनुसार ०८० जेठको एक महिनामा मात्रै ८ करोडभन्दा बढी जरिवाना असुल भएको थियो ।

सापकोटालाई कारबाही कि पुरस्कार 

सिआइबीका अर्का शक्तिशाली थिए लक्ष्मण सापकोटा । सहायक हवल्दार तर ठुल्ठूला मुद्दामा बार्गेनिङ गर्ने । करिब चार वर्ष सिआइबी बसेका उनले एक वर्षअघि पुतलीसडक, बसुन्धारा, कालिमाटीलगायत ठाउँका हुण्डी कारोबारीको करोडौँ रुपैयाँ लगेको घटना हेडक्वार्टरले पनि लुकाउन नसक्ने अवस्था आएपछि कारबाही गरियो भनियो र १ नम्बर गणमा सरुवा गरियो तर त्यहाँ हाजिरै नगरेर ललितपुरको सम्पत्ति शुद्धीकरणमा पठाइयो । थन्क्याउन हेडक्वार्टरमा सरुवा गरिएका उनी झन् बार्गेनिङ गर्ने ठाउँमा पुगेपछि कारबाही हो कि पुरस्कार भनेर प्रहरीहरु नै चर्चा गर्छन् । ०६३ को ब्याचका धेरै जना सहायक हवल्दार रहेकै बेला ०६४ का उनलाई उत्कृष्ट बनाएर हवल्दारमा उक्लिएको छ । उनले पनि थलीलगायत ठाउँमा आफ्नो, दिदी र ससुरालीको नाममा १० करोडभन्दा बढीको सम्पत्ति जोडेको बताइन्छ । लक्ष्मणकी श्रीमती अम्बिका नेपाल प्रहरी अस्पतालमा हवल्दार छिन् । उनीमाथि पनि बिमारीले तिरेको रकम हिनामिना गरेको आरोप छ । तर, कारवाहीको सट्टा डेढ वर्षदेखि नै त्यहीँ राखिएको छ ।

कारबाही भोग्नुपर्ने नै अख्तियारमा

कमल थापा ३३ महिना सिआइबीमा बसेर एसपी भएपछि ०७७ सालमा सरुवा भएका थिए । तैपनि, चलखेल गर्न सक्ने उनले एलिना र लक्ष्मणजस्तालाई जहाँ भए पनि बचाइरहे । उनले इन्स्पेक्टर विनु शाहीलाई समेत कञ्चनपुरदेखि ललितपुरको भैँसेपाटीसम्म पैसा कमाउने मेसिन बनाए । तिनै बिनुलाई भैँसीपाटी प्रकरणमा बचाउन अनेक चलखेल गरे । उनले चलखेल गरेका प्रमाण प्रहरीसँग छन् तर उच्च तहको दबाबमा बिनुलाई मात्र दोषी देखाइयो । कमलले गृहमन्त्री रमेश लेखकदेखि एमाले हुँ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई प्रभावमा पारेको र हालै लाजिम्पाटमा १५ करोडको घर हेरेको बताइन्छ ।  इन्स्पेक्टर बिनुलाई ६० दिनदेखि कमलले नै सुरक्षा दिएर लुकाएको चर्चा जताततै छ । ३० लाख रुपैयाँ लेनदेनको मुद्दामा बिनुलाई असोज १८ गते पक्राउ पुर्जी जारी भएको थियो । 

कमल आर्थिक अपराधीलाई कारबाही गर्ने अख्तियारमा कसरी पुगे त्यो पनि चर्चाको विषय छ । उनले अहिलेका गृहमन्त्री, प्रधानमन्त्री र खास गरी अख्तियार प्रमुख प्रेम राई हुञ्जेल आफूलाई कसैले केही गर्न नसक्ने भनेर फूर्ति लगाउने गरेका छन्।

टिप्पणीहरू