दुई दशकमा एकल महिलाको संख्या दोब्बर

दुई दशकमा एकल महिलाको संख्या दोब्बर

नेपालमा एकल महिलाको संख्या बढ्दै गएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले मुलुकमा एकल महिलाको संख्या दोब्बरले बढेको देखाएको छ । 

केन्द्रीय तथ्याङ्क कार्यालयले एकल महिलासँग सम्बन्धित तथ्याङ्क सार्वजनिक गर्दै मुलुकमा नौ लाख ९७ हजार ६६२ जना एकल महिला रहेको जनाएको छ । सन् २००१ को जनगणनामा एकल महिला संख्या तीन दशमलब ७ प्रतिशत रहेकोमा २०२१ मा आठ दशमलब २ प्रतिशत पुगेको छ । 

यो विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्षमाथिका अविवाहित महिलाको संख्या हो । कार्यालयले झण्डै आठ लाख घरपरिवारमा कम्तीमा एक विधवा महिला देखिएको जनाएको छ । 

कुल घरपरिवारमध्ये १४ प्रतिशतमा एकल महिला पाइएको छ । त्यस्ता घरपरिवारमध्ये १२ प्रतिशत विधवा र दुई प्रतिशत अन्य एकल महिला हुन् । 

कार्यालयका निर्देशक राजन सिलवालले विधवा र अन्य एकल महिला भएका घरपरिवारका विशेषता एकै प्रकारको रहेको जनाए । उनका अनुसार एकल महिला रहेको परिवार कर्णालीमा ११ प्रतिशत र सुदूरपश्चिममा १४ प्रतिशत भेटिएको छ । उनले भने, ‘कम्तीमा एक जना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत रहेका छन् । नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेका छन् । दश वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला छन् । तथ्याङ्कले विदुर २.२ प्रतिशत भन्दा विधवा महिलाको सख्या धेरै ६.६ प्रतिशत रहेको छ ।’

विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएकाले एकल महिलाको संख्या बढेको कार्यालयको भनाइ छ । सन् २००१ मा ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिलाको अनुपात शून्य दशमलब ५ प्रतिशत रहेकोमा अहिले शून्य दशमलब ७ प्रतिशत पुगेको छ ।

टिप्पणीहरू