जनयुद्धको उपलब्धिलाई तलमााथि गर्न खोजे पूर्व उपराष्ट्रपति हात बाँधेर नबस्ने
सक्रिय राजनीतिमा फर्किन लागेको चर्चासँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ माओवादी केन्द्रको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको छ । माओवादी सम्बद्ध गणतन्त्र सेनानी कोषले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अतिथिका रुपमा सहभागिता जनाउनुभयो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका शीर्ष नेताहरु उपस्थित कार्यक्रममा राजनीतिक भाषण गर्नुभएका पुनले राजनीतिमा फर्किने संकेतसमेत गर्नुुभएको छ ।
तत्कालीन जनमुक्ति सेनाको कमाण्डरसमेत रहनुभएका उहाँले जनयुद्धमा निर्वाह गरेको भूमिकाभन्दा सशक्त नेतृत्व गर्न आफू तयार रहेको बताउँदै राजनीतिमा फर्किने मनसाय व्यक्त गर्नुभएको हो । पूर्वउपराष्ट्रपति पुनले गणतन्त्रको एक योद्धाका रुपमा प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र भए आफू फेरि लड्न तयार रहेको उद्घोष गर्नुभयो ।
‘म गणतन्त्रको एक योद्धा हुँ, अझै पनि लड्न सक्छु । प्रतिगामीहरुविरुद्ध हामी आगो बन्न तयार हुनुपर्छ, म तयार छु’ उहाँले भन्नुभयो, ‘जनयुद्धबाट प्राप्त उपलब्धिहरु समावेशी, समानुपातिक, संघीयतालाई कसैले दायाँबायाँ गरेर उल्टाउन खोजिन्छ भने मैले विगतमा जे जे गरेँ, त्योभन्दा अर्को उचाईबाट नेतृत्व गर्न सक्छु, त्यो आँट र साहस मसँग छ ।’
उहाँले विभाजित माओवादी घटकहरुलाई एकीकृत गर्दै नयाँ ढंगको आन्दोलन उठाउन अपिलसमेत गर्नुभएको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा टुटफुटको इतिहास सच्याएर गोलबद्ध हुनुपर्नेमा पुनले जोड दिनुभयो ।
‘त्यतिबेला हामी कोही सांस्कृतिक मोर्चाबाट लड्यौं, कोही जनमुक्ति सेना भएर लड्यौँ । तर अब गणतन्त्रको जगमा हामीले नै समाजवाद निर्माणको शुभारम्भ गर्नुपर्छ । त्यसका लागि प्रचण्डकै नेतृत्वमा हामी सबै फेरि एकपटक गोलबद्ध हुनुपर्छ’, पुनले भन्नुभयो ।
गणतन्त्र स्थापनामा जनमुक्ति सेनाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भन्नुभयो, ‘विश्वका विभिन्न मुलुकहरुलाई पनि माओवादी आन्दोलनकै जगमा नेपालमा गणतन्त्र आएको हो भन्ने कुरा अवगत छ ।’
टिप्पणीहरू