डिपी बने घण्टीको कावा सभापति,वाग्लेसँग जुट्यो सहमति
![डिपी बने घण्टीको कावा सभापति,वाग्लेसँग जुट्यो सहमति](https://janaaastha.prixacdn.net/media/albums/dp_ZcKovEowZc.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापति बनाएको छ । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा नछुट्ने भएपछि उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र अर्यालबीच नेतृत्वको लागि प्रतिस्पर्धा चल्दै आएको थियो । तर वाग्ले र अर्यालबीच केही दिनअघि आपसी सहमति भएको बुझिएको छ ।
रास्वपा सांसद गणेश पराजुलीले पनि अर्याल कार्यवाहक सभापति बनेको पुष्टि गरेका छन् । उनले जनआस्थासँग भने, ‘स्वर्णिम दाइ र डिपी दाइबीच कुरा मिलिसक्यो । स्वर्णिम दाइले आफै डिपी दाइलाई कार्यवाहक सभापतिको लागि प्रस्ताव गर्नुभयो, केन्द्रीय समितिले पनि प्रस्ताव स्वीकार गरिसक्यो ।’
यद्यपि, उपसभापति अर्याललाई पार्टीको कार्यवाहक सभापतिको रुपमा औपचारिक घोषणा भने गरिएको छैन। सभापति हिरासतमा हुँदा कार्यवाहकको औपचारिक घोषणाले कानुनी प्रश्न उठाउन सक्ने भन्दै घोषणा नगरिएको सांसद पराजुलीले बताए । उनले थपे, ‘पार्टीका सबै साथीलाई जानकारी छ, हामीले औपचारिक घोषणा मात्रै नगरेको हो । आवश्यक परेकाे खण्डमा घोषणा गर्न सकिन्छ ।’
‘स्वर्णिम दाइ र डिपी दाइबीच कुरा मिलिसक्यो । स्वर्णिम दाइले आफै डिपी दाइलाई कार्यवाहक सभापतिको लागि प्रस्ताव गर्नुभयो, केन्द्रीय समितिले पनि प्रस्ताव स्वीकार गरिसक्यो ।’
त्यसो त, उपसभापति वाग्लेले पनि कार्यवाहक सभापति बन्नको लागि इच्छा व्यक्त नगरेका भने होइनन् । तर सभापति लामिछानेले वाग्लेभन्दा अर्याललाई बढी प्राथमिकता दिएको जगजाहेर छ ।
कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध, लिखित किर्ते,सम्पति शुद्धीकरणलगायतका मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय लामिछानेविरुद्ध प्रहरीले फेला पारेका बलिया प्रमाणहरुको कारण रास्वपा नेताहरु अफ्ठ्यारोमा परेको बताइन्छ । सरकारले राजनीतिक प्रतिशोध साँधेको दावी गर्दै आएका रास्वपा नेताहरु नै सभापति लामिछाने पुर्पक्षका लागि थुनामा जानसक्ने बताउन थालेका छन् ।
खासगरी उपसभापति वाग्लेले सभापति लामिछानेको लागि पार्टीलाई अल्झाउन नहुने तर्क राख्दै आएका छन् ।
टिप्पणीहरू