‘गणतन्त्र नायक' को सम्मान थप्दै प्रचण्डद्वारा बैशाखी नटेक्ने घोषणा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुको प्रतिगमनकारी हर्कतलाई परास्त गर्न नयाँ आन्दोलनको आवश्यकता औँल्याउनुभएको छ ।
गणतन्त्र सेनानी कोषले आज राष्ट्रिय नाचघरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्र र सामाजिक न्यायका लागि नयाँ क्रान्ति शुरु गर्नुपर्नेमा जोड दिनुभएको हो । जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धीलाई कतिपयले षड्यन्त्रपूर्वक ध्वस्त पार्न खोजेको भन्दै प्रचण्डको कार्यकर्तापंतिलाई सचेत पनि गराउनुभयो ।
‘फेरि एउटा नयाँ अभियान र आन्दोलन गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘यसको मतलब मैले भूमिगत हुने वा सशस्त्र संघर्ष गर्ने भनेको चाहीँ होइन, विचार मिल्ने पार्टीहरु एक ठाउँमा उभिएर प्रतिक्रियावादीको प्रयासलाई निरिह सावित गर्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले माओवादीले कसैको बैशाखी नटेक्ने पनि स्पष्ट पार्नुभएको छ । हालै सम्पन्न उपनिर्वाचनको नतिजाले पार्टीमा उत्साह ल्याएको बताउँदै थप्नुभयो, ‘माओवादीले अब कसैको बैशाखी टेक्दैन । एक्लै हिँड्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको लागि म अघि बढिसकेँ ।’
अध्यक्ष प्रचण्डले जनयुद्धको बेला आफूलाई सुप्रिमो कमाण्डर मानेर विश्वास गर्ने शहीद, घाइते तथा वेपत्ताहरुलाई पनि स्मरण गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रचण्डलाई ‘गणतन्त्र नायक’ र अन्य १७ जनालाई ‘गणतन्त्र सेनानी’बाट सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवसहित बागमती प्रदेशका १३ जिल्लाका एक-एक जना छन् ।
टिप्पणीहरू