‘गोर्खा मिडियामा लगिएको ६५ करोड फिर्ता गर’ भन्ने र ‘रविलाई रिहा गर’ भन्नेहरु आमनेसामने
रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले चितवनमा गरेको प्रदर्शन मुठभेडमा परिणत भएको छ ।
सहारा सहकारी घोटालामा मुछिएका लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाँदै गर्दा उनका कार्यकर्ताहरू प्रहरीमाथि जाइलागेपछि झडप निम्तिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार झडपमा २२ जना प्रहरी घाइते भएका छन् ।
प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ताले शुरुमा निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यसपछि प्रहरीले सामान्य बल प्रयोग गरेकोमा उनीहरु ढुंगामुढामा उत्रिएको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले बताए । रास्वपा कार्यकर्ता उग्र बनेपछि प्रहरीले पानीको फोहोरा र केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको जनाएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपाका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
यता, सहारा बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले पनि बचत फिर्ताको माग गर्दै प्रदर्शन गरिरहेका छन् । ‘गोर्खा मिडियामा गएको ६५ करोड फिर्ता गर’ लेखिएको ब्यानरमा जिबी राईको तस्बिर रखिएको छ । उनीहरूको प्रदर्शन भने शान्तिपूर्ण देखिन्छ ।
टिप्पणीहरू