बेइजिङमा चिनियाँ व्यवसायीहरुमाझ महासंघ अध्यक्षको आह्वान

बेइजिङमा चिनियाँ व्यवसायीहरुमाझ महासंघ अध्यक्षको आह्वान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा रहेको महासंघ टोलीले आज त्यहाँ आयोजित नेपाल–चीन बिजनेस समिटमा उक्त आह्वान गरेको हो । 

समिटमा अध्यक्ष ढकालले पहिलो पटक नेपालको क्रेडिट रेटिंग भएको र उक्त रेटिंग दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी गराउँदै लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ । 

उनले सीमा क्षेत्रको पूर्वाधारलगायत स्तरोन्नति एवम् भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड पनि दिए । 

नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रमा प्रशस्त सम्भावना रहनुका साथै पछिल्लो समय पर्यटन पूर्वाधार केबलकार, थिम पार्क, रिसोर्टजस्ता क्षेत्रमा विदेशी लगानी बढिरहेको अध्यक्ष ढकालले जानकारी गराए । 

नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको जनाउँदै उनले नेपाललाई पनि प्राथमिकतामा राख्न चीन सरकारसँग आग्रह गरे । उनले लगानीको वातावरण थप सुधार्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको सदस्यका नाताले मुलुकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाए । 

महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने अध्यक्ष ढकालको भनाइ छ । उनले चीनले यही डिसेम्बरदेखि आफ्नो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरुलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको स्वागत समेत गरे । 

महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । समिटमा प्रधानमन्त्री ओलीसहित चीन सरकारका उच्च पदस्थ अधिकारी तथा चिनियाँ व्यवसायीहरु पनि सहभागी भएका थिए । समिटभन्दा पहिले बिजनेट टु बिजनेट बैठक भएको थियो ।

टिप्पणीहरू