कुलमानको कार्यकक्षभन्दा माथिल्लो तलामा ऊर्जामन्त्रीको शयनकक्ष
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि बिजुलीको पैसा नतिर्ने व्यवसायीहरुको पक्षमा उभिएको आरोप लाग्दै आएको छ । आफैँ पनि विभिन्न जलविद्युत कम्पनीको लगानीकर्ता रहेका मन्त्रीमाथि व्यवसायीको बक्यौता मिनाहा गराउने भित्री चलखेलमा रहेको धेरैको अनुमान छ ।
विद्युत महशुल उठाउन पहल गरिरहेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग ‘टसल’ परेका उनै मन्त्री खड्काले रत्नपार्कस्थित प्राधिकरण केन्द्रीय कार्यालय भवनमा कार्यकक्ष बनाएका छन् । घिसिङसँग छलफल र समन्वय नै नगरी उनले हिजो साँझ कार्यकक्ष बनाएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
‘एमडी’साप काठमाडौँमा हुनुहुन्न । मन्त्रीज्यूले छलफल गरेर भनेको भए हामी आफैँ कार्यकक्ष बनाइदिन्थौँ’, उनले जनआस्थासँग भने, ‘तर एमडी’साप नभएको बेला हिजो साँझ उहाँ (मन्त्री)कै मान्छेहरु आएर फर्निचर राख्नुभएछ, मिलाउनु भएछ, हामी कर्मचारीले के भन्नु र !’
प्रवक्ता घोषका अनुसार कार्यकारी निर्देशक घिसिङको कार्यकक्ष रहेको एक तलामाथि मन्त्रीको लागि बस्ने ठाउँ बनाइएको छ । आजसम्म कुनै पनि मन्त्रीले प्राधिकरणमा यसरी कार्यकक्ष नै बनाएर अड्डा जमाएको इतिहास नभएको त्यहाँका कर्मचारी बताउँछन् ।
डेडिकेटेड र ट्रंकलाइनको विवादमा प्राधिकरणसँग सिंगौरी खेलिरहेका मन्त्रीको यो कदमलाई आमरुपमा पनि स्वाभाविक मानिएको छैन । व्यापारी पोस्ने योजनामा बाधक बनेका घिसिङको काममा हस्तक्षेप गर्न उनले यस्तो हर्कत गरेको धेरैको अनुमान छ ।
घिसिङ्ग भने दशैं अघिको बाढीले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन र पुनःनिर्माणबारे विस्तृत अध्ययनका लागि दोलखा गएका छन् ।
टिप्पणीहरू