उपचुनावको नतिजाले हौसिएको माओवादी अब एक्लै लड्ने
नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासी खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निचोड निकालेको हो । 'आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ’, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।
माओवादीले यसअघि जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर केही पालिका र वडा थप गर्नुका साथै लोकप्रिय मतका हिसाबले दोस्रो हुनुलाई उपलब्धिको रुपमा लिएको छ । भएभरका सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी भएको ऊ उत्साहित देखिन्छ ।
०७९ को चुनावमा कमजोर रहेको मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडामा जित हात पार्नु र पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो भएको माओवादीले यसलाई जनतासँगको सम्बन्ध सुध्रिएको अर्थमा लिएको छ । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जीतकै रुपमा लिएको सापकोटाले बताए ।
‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुबैको कुरा मिल्दै गएको छ’, उनले भने, ‘हाम्रो पार्टीले पनि जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीको रुपमा लिंदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको छ भने जनताले पनि हाम्रो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेका छन्, अहिले उपनिर्वाचनको सफलताको अर्थ पनि योसँगै जोडिएको छ ।’
बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । त्यसनिम्ति केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकालेको माओवादीले सरकार फेरबदलमा भने चासो नदिने पुरानै निर्णयमा अडिग रहेको उनले बताए । त्यस्तै, विद्युत प्राधिकरणमा सरकारले गरिहेको हस्तक्षेपको उसले बिरोध गरेको छ ।
टिप्पणीहरू