माओको नाममा प्रचण्ड र वैद्यको आ–आफ्नै दाबी
आज १ सय ३२औं माओ दिवस । संसारभरका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउँदै छन् । यस अवसरमा सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले काठमाडौंमा अन्तरक्रिया आयोजना गरेको छ।
समाजवादी चीन स्थापनामा माओले खेलेको भूमिका र नेपालको सन्दर्भबारे आयोजकले विभिन्न पार्टीका नेतालाई एकै ठाउँमा उभ्याएर अन्तरक्रिया गर्न लागेको हो । आफूलाई कम्युनिष्ट आन्दोलनको मूल प्रवाह दावी गर्ने एमालेदेखि माओकै पथप्रदर्शक सिद्धान्तमा आधारित भएर राजनीति गरिरहेको माओवादी केन्द्रले भने औपचारिक रुपमा कार्यक्रम आयोजना गरेका छैनन् ।
माओकै विचारबाट प्रेरित भई १० वर्ष जनयुद्ध गरेका माओवादी घटकहरुले केही वर्ष अघिसम्म विशेष कार्यक्रम गर्ने गरेका थिए । यौटै पार्टी हुँदा भव्यताका साथ माओ दिवस मनाउने उनीहरु टुट, फुट र विभाजनसँगै छुट्टा–छुट्टै कार्यक्रम गर्दै आएका छन् । तर, पछिल्ला वर्षमा क्रमशः ‘कोठे शुभकामना’ मा खुम्चिँदै गएका उनीहरु यसपटक त झन प्रेस विज्ञप्तिमा सीमित भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यलगायत विभिन्न धारमा छरिएर रहेका माओवादी घटकका नेताहरुले शुभकामना सन्देश जारी गर्दै माओत्से तुङ्गले अघि सारेको विचारमा एकतावद्ध हुन सबैलाई अपील गरेका छन् । प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा माओको विचार मार्गदर्शकका रुपमा रहँदै आएको बताउनुभएको छ ।
‘माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो’, प्रचण्डले भन्नुभएको छ, ‘कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ ।’
माओको विचार र प्रयोगबाट प्रेरणा लिँदै सबै क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उहाँले नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्मा रहँदा माओको रणनीतिलाई कार्यान्वयन गर्न सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेको दाबीसमेत गर्नुभयो । अहिले पनि कार्यान्वयनमा जुटेको जनाउँदै भन्नुभएको छ, ‘हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ ।’
त्यस्तै, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यले पनि माओको सर्वहारा सांस्कृतिक क्रान्तिले विश्वभरीका कम्युनिष्टहरुलाई दिशानिर्देश गरिरहेको बताउनुभएको छ । लेनिनले विकास गर्न नभ्याएको भौतिकवादी द्वन्द्ववाद र वर्ग संघर्षवादी दर्शन पनि माओले नै विकास गरेको उहाँको विश्लेषण छ ।
वर्ग विश्लेषणमा माओको योगदान स्मरण गर्दै भन्नुभएको छ, ‘सेतो बिरालो होस् वा कालो, उसको काम मुसा मार्ने हो र उत्पादन बढाउ भन्ने संशोधनवादी सिद्धान्तलाई गलत सिद्ध गरी क्रान्तिलाई पकड र उत्पादन बढाउ बन्ने सिद्धान्त सूत्रबद्ध गर्नु तथा कम्युन प्रणालीलाई अर्थतन्त्रको आधार बनाउनु उहाँको महत्वपूर्ण देन हुन् ।’
द्वन्द्ववादको तीन वटै नियमलाई एउटै अन्तरविरोधको नियममा संश्लेषण र विकास गरेर माओले वैज्ञानिक समाजवादी क्रान्तिलाई अघि बढाएको वैद्यको भनाई छ ।
टिप्पणीहरू