गण्डकीका मुख्यमन्त्री तीन दिने दौडाहामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तीन दिने यात्रामा निस्किएका छन् । उनी आज बिहान ९ बजे पोखरा–स्याङ्जा–नौडाँडा, सेतीदोभान–भूलबारी हुँदै पर्वतको आर्चर प्रस्थान गरेका हुन् ।
साढे ११ बजेदेखि कुश्मा नगरपालिका–१४ मा रहेको समाजघरको उद्घाटन कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री पाण्डे दिउँसो १ बजे समाजघर,वडा कार्यालय उद्घाटनको संयुक्त कार्यक्रममा जानेछन् । उनी आज राति कुश्मा बजारमा बास बस्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उनी भोलि बिहान साढे ७ बजे ढोरपाटन नगरपालिकाको बुर्तिवाङ प्रस्थान गर्नेछन् । दिँउसो ११ बजेदेखि शुरु हुने वडा नम्बर–१ स्थित बुर्तिवाङ अस्पतालको समुदघाटन कार्यक्रममा सहभागी भएर साँझ साढे ५ बजे बुर्तिवाङ बजारस्थित होटलमा बास बस्न पुग्नेछन् ।
पुस १३ गते बिहान ९ बजे वडा नम्बर–५ मा क्षयरोगको जोखिममा रहेका व्यक्तिहरुको निःशुल्क खोजपड्ताल कार्यक्रममा सहभागिता जनाउनेछन् । ११ बजे बोङ्गादोभान खोलामा बनेको मोटेरेबल पुलको उद्घाटन,दिउँसो साढे १२ बजे तमानखोला गाउँपालिका–३ मा रहेको धनगो ज्योति माविको भवन उद्घाटन तथा वार्षिक उत्सवमा सहभागी भएर सोही दिन पोखरा फर्किनेछन् ।
उनी उपस्थित हुने कार्यक्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । कार्यक्रम अवधिभर भरपर्दो सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउन भन्दै कार्यालयले पुस ९ गते प्रहरीलाई पत्राचार गरेको हो ।
शाखा अधिकृत रोजी सापकोटाद्वारा हस्तक्षरित पत्रमा भनिएको छ,‘माननीय मुख्यमन्त्रीज्यूको निजी सचिवालय, गण्डकी प्रदेश पोखराको च.नं.१४५ मिति २०८१–०९–०९ को पत्रबाट लेखि आएबमोजिम माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू मिति २०८१–०९–११ गते बिहीबारका दिनदेखि देहायबमोजिमको समय तालिकामा विभिन्न कार्यक्रममा सहभागी हुने भएकोले उक्त अवधिभर सुरक्षित र भरपर्दो सुरक्षा व्यवस्थाको प्रबन्ध गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’
टिप्पणीहरू