अहिले नगरे कहिले गर्ने ?

अहिले नगरे कहिले गर्ने ?
सुन्नुहोस्

‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ...’, त्यो हाम्रो ऐतिहासिक गाथा, स्वाभिमान, अभिमान, वीरता, स्वतन्त्रता अनि आत्मगौरव हिजोआज कहाँ विलिन भयो ? खाडीको मरुभूमिमा ? छिमेकी मुलुकका होटल, घर, ढोका, कोठी अनि त्यतैको फौजमा ? केही भने अष्ट्रेलिया, अमेरिका, जापान, सिंगापुर, बेलायत, अमेरिका जस्ता विदेशी राष्ट्रको पिआरमा ।  

मुलुकको विकास तथा रक्षामा लाग्नुपर्ने युवाशक्ति जति सबै बाहिर जाने क्रम बढ्दो छ । यता मुलुकमा विदेशी, खासगरी नजिकैकाहरुको जगजगी भइरहेको छ । नढाँटी भन्ने हो भने अहिले हाम्रो शिर कहाँ संसारमै उँचो छ र ? विदेशी भूमिमा मात्र होइन, आफ्नै देशमा शिर झुकाएर, हेपिएर, चेपिएर, खुम्चिएर, निस्सासिएर बाँच्नु परिरहेको अत्यन्त लाचार अवस्थामा छौं हामी । 

नेपालमा जता गएपनि, जता हेरेपनि हिजोआज विदेशी अनुहार नै बढी देखिन थालेको छ । हुन त हाम्रो आँखा नै कहाँ छ र ? नेपथ्यका अमृत गुरुङले ‘कसैले सोधे...’ बोलको गीतमा त्यसै भनेका होइनन्, ‘कुरा नलुकाई भन्न मन लाग्छ– आँखा छ हाम्रो तर देख्छ अरुले । कलम छ हाम्रो तर लेख्छ अरुले । गाउँ छ हाम्रो तर बस्छ अरु नै । जीवन छ हाम्रो तर खेल्छ अरु नै ।’

पहिले हाम्रो वीरताको गाथा बोकेका गीत संगीत कस्ता हुन्थे ? ‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं... हामीले हिमाल उठायौं एसियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा ।’ तर अहिले देशको सीमा खुम्चिएजसरी हाम्रो सभ्यता र संस्कृति पनि निचोरिइसकेको छ । के अब सँधैं यसरी अरुको टाङमुनि लम्पसार भएर बाँच्ने हौं हामी ? ए सरकार ? ए नेपाली जनता ? 

नारायणगढ, भरतपुर जस्तो मध्य नेपालको व्यस्त बजारमासमेत स्वदेशी र विदेशी सरोबरी देखिन्छन् । जुनसुकै गल्लीमा त्यस्तो अवस्था छ । माग्ने र जोगीदेखि व्यापारी–व्यवसायी धेरैजसो उतैका हुन् ।

हुनतः मधेसमा पहिल्यैदेखि भाषा र संस्कृतिमाथि प्रहार भएको छ । नक्साले मात्र देश कहाँ चित्रित हुन्छ र ? रहनसहन, भाषा, संस्कृतिको सही संरक्षण हुनुपर्यो नि ! मधेसको पनि आफ्नै दुःख छ, अशिक्षा, बेरोजगारी व्याप्त छ । 

त्यहाँका स्थानीयलाई विभिन्न प्रलोभनमा पारिएको छ । पारिबाट आएका अपराधीहरु मधेसमा मिसिएपछि चिन्नै गाह्रो ? यता अपराध गर्दा पनि नदेखिने, लुक्ने, लुकाउने बाटो यत्रतत्र छ । त्यसैले मधेस पनि अत्यन्त आक्रान्त देखिन्छ । कहिले भाषा, कहिले भूगोल र धर्मका नाममा मधेसमा बस्ने नेपाली जनता निकै सताइएका छन् ।

पछिल्लो समय नेपाली भूमिमा उनीहरुको रजाइँ भन्न थालिएको छ । अटेर गर्दै सडकपेटीमासमेत जबरजस्ती अखडा जमाएको पाइन्छ । हेर्दा नेपालीझैँ लाग्नेहरु नारायणी नदी किनारमा विभिन्न पेशादेखि सुन चाल्नेको रुपमा भेटिन्छन् । 

नारायणगढ कमलनगरमा बाटो हिँड्नै दुर्गन्धित हुने गरी बस्ती र सडकको छेउमै माछामासुको पसल छ । भारतबाट चोरबाटो हुँदै आउने कमसल गुणस्तरका माछाले स्वदेशको ताजा माछा खेरजाने अवस्था बनाइदिएको छ ।

तर, यता पेशा व्यवसाय अपनाउने भन्दा विदेश जानेको लस्कर दिनहुँ लामो हुन थालेको छ । अर्काको मुलुकमा गएर रगतपसिना बगाउन रमाउने हामी के भयौं भयौं । यस्तो अवस्थाले आफ्नै मुलुकमा पनि पराइ झैं हुने परिस्थिति नबन्ला भन्न सकिन्न । आफ्नै जमिनमा उब्जाउन सकिने कृषिउपजसमेत अधिकांश विदेशबाट आयात गरेर खाँदैछौं । यहाँको व्यापार–व्यवसायमा अरु रमाएको देखेपछि खुशी हुने हाम्रो उत्थान र समृद्धि कसरी होला ?

त्यसैले फर्र्काैं विदेशिएकाहरु । सबैजना आफ्नो देश बनाउन मिलेर जुटौं । मधेसी, पहाडी, हिमाली सबै नेपाली एक भएर यो देशलाई अझ परिष्कृत बनाउन अब ढिलो नगरौं । हुनत : यसका लागि ढिलो भइसकेको छ । धेरै समय लाग्दैन सबै मिलेर देश बनाउने हो भने । अब नि नजागे कहिले जाग्ने ? अहिले नगरे कहिले गर्ने ?

टिप्पणीहरू