लाखौं बुझेर समानुपातिक सांसद हटाउने प्रयास
आफ्नै प्रस्ताव र पार्टीको सिफारिसमा नियुक्त जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ सापकोटालाई हटाउन उद्दत डा. सीके राउतले उनीसँग लाखौं रुपैयाँ बुझेको रहस्य खुलेको छ । मधेश केन्द्रित पार्टीले सापकोटालाई खस–आर्य समानुपातिक सूचीबाट सांसद बनाउँदा राउतले ३२ लाख रुपैयाँ बुझेको तथ्य बाहिरिएको छ ।
चौथो प्रयासमा पनि सांसदबाट हटाउन नसकेपछि राउतको पार्टीले केही दिनअघि सभामुखविरुद्ध अनेक आरोप लगाउँदै संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको थियो । तर, सभामुखले सापकोटालाई सांसदबाट हटाउन उपयुक्त कारण र प्रमाण नपुगेको औपचारिक रुपमा जनाइसकेका छन् ।
जनमतले सोमबार विज्ञप्तिमार्फत् सभामुख घिमिरेको राजीनामा मागेको छ । जनमत प्रवक्ता शरदसिंह यादवले सभामुख घिमिरे अमुक पार्टीको कार्यकर्ता बनेको आरोप लगाएका छन् । तर,गोमाले सांसद बन्नुअघि मेगा बैंकको जनकपुर शाखास्थित सुरेन्द्रनारायण यादवको खातामार्फत सिकेलाई ११ लाख रुपैयाँ दिएको विवरण सार्वजनिक भएको छ । यादवको खातामा गोमा आफैँले एक हजार दरको आठ लाख र पाँच सय दरको नोट तीन लाख जम्मा गरिदिएकी थिइन् । रकम जम्मा गरिएको भौचरमा उद्देश्य: व्यापार उल्लेख छ ।
महोत्तरीकी गोमाको पारिवारिक स्रोतले नगद बुझाउन लिएको ऋणले आफ्नो परिवार आर्थिक रुपमा थला परेको जनाएको छ । सांसदको तलबभत्तासमेत सबैजसो पार्टीलाई बुझाउनुपर्ने अवस्था बनेको र निजी सचिवसमेत उनीहरुकै मान्छे राख्न लगाएपछि आर्थिक संकट बढेको गोमाका एक जना नातेदारले बताए ।
पहिले गोमाको निम्ति पार्टीले स्वकीय सचिवमा अशोक साहलाई खटाएको थियो । तर अहिले मनिषाकुमारी झालाई राखिएको छ । उनी पेशाले विद्यार्थी हुन् ।
टिप्पणीहरू