अन्य मुलुकसँगको संसदीय सम्बन्ध प्रगाढ बनाउन दलहरुबीच भागबण्डा
विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउन ४४ देशका लागि गठित ‘संसदीय मैत्री समूह’ को संयोजक तोकिएको छ । प्रमुख राजनीतिक दलबीच भागबण्डाका आधारमा आज संयोजक चयन गरिएको छ ।
संयुक्त राज्य अमेरिकासहित १४ वटा देशको संयोजक नेपाली काँग्रेसले पाएको छ । एमालेले भारतसहित १२ देशको संयोजक पाउँदा माओवादी केन्द्रको भागमा चीनसहित छ मुलुक परेका छन् । जसअनुसार अमेरिका, भारत र चीनका लागि क्रमशः डा. प्रकाशशरण महत, रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ संयोजक तोकिएका छन् ।
नेपाल–अष्ट्रेलिया, बेलायत र जापान संसदीय मैत्री समूहको संयोजक क्रमशः गगनकुमार थापा, विराजभक्त श्रेष्ठ र डा. नारायण खड्का बनेका छन् । नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा.चन्दा कार्की र नेपाल–भुटान संसदीय समूहमा सुशीला सिर्पाली ठकुरी तोकिएका छन् ।
त्यस्तै, नेपाल–यूएई, साउदी अरब र आयरल्याण्ड मैत्री समूहमा सीता गुरुङ, उदय समशेर राणा र ज्ञानेन्द्रबहादुर कार्की संयोजक चयन भएका छन् । नेपाल–अजरबैजान संसदीय समूहको नेतृत्व डा. अञ्जान शाक्य र कतारको संयोजकमा लिलानाथ श्रेष्ठ छन् ।
नेपाल–जर्मनी मैत्री समूहमा कृष्णगोपाल श्रेष्ठ र इण्डोनेसियन मैत्री समूहमा रामप्रकाश चौधरी संयोजक तोकिएको जानकारी दिइएको छ । सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
टिप्पणीहरू