बिआरआई सम्झौता आफैँ विकास सहायता : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ सहयोग परियोजना बिआरआई सम्झौताबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको अन्तिम क्षणमा भएको बिआरआई फ्रेमवर्क हस्ताक्षरलाई लिएर भएको आलोचनामा उहाँले सम्झौताका बुँदाबारे राम्रोसँग आग्रह गर्न सुझाव दिनुभएको छ ।
बिआरआईमाथि भएको टिप्पणीलाई उहाँले ‘वचपना’ को संंज्ञा दिनुभएको छ । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त टिप्पणी गर्नुभएको हो ।
मन्त्री राणाले भन्नुभयो, ‘सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय भएको छैन । सम्झौताबारे बुझ्दै नबुझि टिप्पणी नगरौं । ऋण लिने÷दिने दुबै पक्षको मञ्जुरी र आग्रहमा हुन्छ ।’
प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा रहनुभएका परराष्ट्रमन्त्रीले नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको उल्लेख गर्नुभयो । उहाँलो भन्नुभयो, ‘बिआरआई सम्झौता आफैँ विकास सहायता हो ।’
टिप्पणीहरू