पूर्ण बहादुरको सारङ्गीका निर्माताको फिल्म हलमा बन्देज

पूर्ण बहादुरको सारङ्गीका निर्माताको फिल्म हलमा बन्देज
सुन्नुहोस्

नेपाल चलचित्र संघले सेभेन सिज सिनेमाद्वारा निर्मित तथा वितरित कुनै पनि फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको छ। 

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन स्थगित सम्बन्धमा निर्माण कम्पनीद्धारा हिजो जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै संघले यस्तो निर्णय गरेको हो । निर्माताले आफ्नो धारणा स्पष्ट नपारेसम्म चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी छ।

‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने तथा वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचत्रि संघको सदस्यहरुले प्रदर्शन नगर्ने समेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ । 

चलचित्र घरमा प्रदर्शकले वितरकमार्फत चलचित्र प्रदर्शन गर्न पाउने कानूनी व्यवस्था रहेको जनाउँदै संघले फिल्म हलमा प्रदर्शन गर्ने नगर्ने सम्पूर्ण अधिकार वितरकमा निहित हुने बताएको छ । 

‘चलचित्र निर्माण पक्षको व्यवसायिक प्रतिनिधि चलचित्र वितरक हो । तर, कानूनभन्दा बाहिर भई सेभेन सिज सिनेमाले नेपाल चलचित्र संघका सदस्यहरुको विज्ञप्तिमार्फत पटकपटक मानमर्दन गर्ने कार्य गरेमा खेट प्रकट गर्दछौं । यस्तो कार्य नेपाल चलचित्र संघलाई कदापि सह्य हुन सक्दैन,’ संघले भनेको छ । 

‘पूर्ण बहादुरको सारङ्गी’ को उत्साहजनक व्यापारमा चलचित्र प्रदर्शकको समेत महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै संघले बिना कारण संघका सदस्यहरुको मानमर्दन हुने कार्य र अपमान सह्य नहुने स्पष्ट पारेको छ । अन्यथा, यस्तो कार्यको विरोध गर्दै जुनसुकै कदम चाल्ने र त्यसको जिम्मेवार स्वयम् निर्माता पक्ष हुने संघको चेतावनी छ । 

गत बिहीबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म ‘पुष्पा २’ लाई हलहरुले अधिकांश शो दिएपछि सिज सिनेमाले एकपक्षीय रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्ने निर्णय गरेको थियो ।

 

टिप्पणीहरू