रातो मान्छे
रातो क्याप
रातो ज्याकेट
उहिल्यै कसैलाई जडौरी दिइसकिएको छ
रेड बुक दराजमा थन्केको त जुगौँ भयो
एउटा रातो झन्डा त सधैँ रहेकै हुन्थ्यो कतै भण्डारतिर
त्यो पनि कुनै भ्रातृ वा भगिनी सङ्गठनले चलाउँदै होला
अब त ठडिएको छ
रातो बङ्गला अग्लो डाँडामा
वा विशाल रेड हाउस
कुनै उद्योगी वा व्यापारीले
उपहार वा दानमा निर्माण गरिदिएको छ सहरको एक कुनामा
अनुहारको रातोपिरो
महँगै स्याउ वा
रातो खुर्सानीले हुनुपर्छ
अनि आँखा हरपल रहन्छ लाल लाल
वेदर वा ठुलै इभेन्टले च्यालेन्ज गरिरहन्छन् त के गर्ने
रातो वस्त्रले सजिएका इम्पोरियम, मल वा सपिङ टावर
जुलुस गए जस्ता लाग्छन्
र रातो गलबन्दी गुतेका सबै कार्यकर्ता र समर्थक
ए भूतपूर्व रातो मान्छे,
तयार छौँ हामी अझै
अर्काे नयाँ क्रान्तिको बलिवेदीमा होमिन
तिमीलाई सत्ताको आलिसन महलमा चढाएर
हामी पनि खाऔँला नि रक्तक्रान्तिको आजन्म भत्ता ।
–––
२०८१ मङ्सिर १९–२१
टिप्पणीहरू