पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्रीलाई भ्याइनभ्याई, प्रचण्डले पनि झापामा भित्र्याउँदै
सरकारको नेतृत्व गरिरहेको एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा अन्य दलका नेता तथा कार्यकर्ता र स्वतन्त्रहरुलाई पार्टी प्रवेश गराउने कार्यमा व्यस्त हुनुभएको छ । प्रधानमन्त्री ओली एमालेमा प्रवेश गरेकाको स्वागतमा पार्टी अफिसदेखि वीरगञ्जसम्म पुग्नुभयो ।
च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले करिब एक दर्जन युवालाई एमालेमा स्वागत गर्नुभएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले एमालेलाई ‘माहुरी’को संज्ञा दिदै फूलबारी पुग्ने विश्वास दिलाउनुभयो । भन्नुभयो, ‘मौरीको संगतमा लागेर पछिपछि लागेमा फूलबारी पुगिन्छ, झिँगाको संगत गरेर उसको पछिपछि लागे फोहोरको डंगुरमा पुगिन्छ । तपाईँहरुको एमालेमा आउने छनोट सही छ ।’
आजै प्रधानमन्त्री पर्साको सखुवाप्रसौनी जानुभयो । त्यहाँ पनि एमालेको पर्सा जिल्ला कमिटीले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । प्रधानमन्त्री ओली दिउँसो करिब १ बजे सेनाको हेलिकोप्टरमा त्यहाँ पुग्नुभएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीका अनुसार प्रधानमन्त्री ओलीको पर्सामा पार्टीको कार्यक्रमबाहेक अरु कुनै कार्यक्रम थिएन ।
त्यहाँ पनि भन्नुभयो, ‘समृद्धि र सुशासनको लागि काम गर्ने भनेको यही सरकार हो । अब तर्क गरिरहनु आवश्यक नै छैन, व्यवहारबाट पुष्टि भइसक्यो । देश बनाउने पार्टी एमाले मात्रै भएकाले अरुमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्छु ।’
त्यसैगरी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि भोली पार्टी प्रवेश कार्यक्रमका लागि झापा जानुहुने बुझिएको छ । प्रधानमन्त्री ओलीको गृह जिल्लासमेत रहेको झापामा अध्यक्ष प्रचण्डले सयौँ युवालाई फूलमाला लगाएर माओवादी केन्द्रमा स्वागत गर्ने कार्यक्रम रहेको बताइन्छ ।
तस्बिरहरु
टिप्पणीहरू