हिउँदे खेलकुद शुरु हुन ३८ दिन बाँकी,नेपालको छैन तयारी
आगामी फेब्रुअरीमा चीनको हार्बिनमा ‘नवौं एसियाली हिउँदे खेलकुद–२०२५’ आयोजना हुँदैछ । चीनले तेस्रोपटक आयोजना गर्न लागेको यो खेल ७ देखि १४ फेब्रुअरीसम्म चल्नेछ । दोस्रोपटक हार्बिनमा हुन लागेको प्रतियोगितामा ११ शीतकालीन खेलका ६४ वटा इभेण्ट हुने जनाइएको छ ।
खेलकुदको उद्घाटन र समापन समारोह हार्बिन अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी र खेलकुद केन्द्रमा हुनेछ । खेल शुरु हुन ३८ दिन मात्र बाँकी छ । प्रतियोगितामा सहभागिता जनाउने मुलुकहरुले धमाधम तयारी गरिरहेका छन् । तर,नेपालले अहिलेसम्म पनि प्रतिनिधिमण्डलकै टुंगो लगाउन सकेको छैन ।
यता,खेलाडीहरुको प्रशिक्षण पनि शुरु भएको छैन । खेलकुदमा नेपालबाट चार जना सहभागी हुने नेपाल ओलम्पिक कमिटीका सुजनलाल श्रेष्ठले बताए । उनका अनुसार टोलीमा दुई जना महिला र दुई जना पुरुष खेलाडी रहनेछन् । खेलाडीहरुको ट्रेनिङ्ग शुरु भइनसकेको उनले जानकारी दिए ।
उनी भन्छन्,‘खेलाडीहरु तय भइसकेका छन् । दुई पुरुष र दुई महिला खेलाडीले खेलमा सहभागिता जनाउने छन् । उनीहरु एकाध दिनमा ट्रेनिङ्गमा जालान् । कोही ट्रेनिङ्गका लागि दक्षिण कोरिया जान्छन्,कोही युरोप । उता जानका लागि तयारी भइरहेको छ ।’ खेलाडीसँग जाने प्रतिनिधिमण्डल भने तय भइनसकेको श्रेष्ठ बताउँछन् ।
केही प्रतिनिधिको नाम छनौट गरिएको उल्लेख गर्दै उनले भने,‘केही प्रतिनिधिको नाम छनौट भएको छ । तर,फिक्सचाँहि भएको छैन । केही दिनमा हामी फिक्स गर्छौं ।’ आठौं एसियाली हिउँदे खेलकुद प्रतियोगिता जापानमा भएको थियो ।
टिप्पणीहरू