अकस्मात हटाइएका सेल्स म्यानेजरले लाखौं तलब बुझ्दै
काम गरिरहेकै अवस्थामा निकालिएका समृद्धि फुड प्रोडक्ट प्रालिका सेल्स म्यानेजर सलमान कार्की (क्षेत्री) ले पारिश्रमिक र सेवासुविधावापत पाउनुपर्ने रकम माग गर्दै श्रम तथा रोजगार कार्यालय, रुपन्देही गुहारेका छन् । २०७७ मंसिर १५ गतेदेखि सो कम्पनीमा कार्यरत उनले कार्यालयमा पारिश्रमिक तथा सेवासुविधा दिलाइदिन आग्रह गर्दै निवेदन दर्ता गरेका हुन् ।
नियमित रुपमा काम गरिरहेका उनलाई बिना जानकारी गत भदौ १ गतेबाट कामबाट निकालिएको हो । त्यसपछि कार्यालय गुहारेका उनको निवेदनमाथि छलफल गर्न मंसिर २५ गते कार्यालयको बैठक बस्यो । बैठकले १५ दिनभित्र सहमति गर्ने निर्णय गर्यो । तर, तोकिएको मितिमा सहमति नभएपछि उनले पुस १५ गते पुनः निवेदन दिएका छन् ।
दर्ता नम्बर ३१७ भएको निवेदनमा भनिएको छ,‘मैले नियमित रुपमा काम गरिरहेको अवस्थामा बिना कसूर, बिना पत्र मलाई २०८१ भदौ १ गतेबाट काममा रोक लगाइएको र मैले पाउनुपर्ने सुविधा रकम उल्लेख गरी निवेदन दर्ता गराईसकेको छु । मिति २०८१ मंसिर २५ मा बसेको छलफल कार्यक्रममा १५ दिनभित्र सहमति गर्ने भनिएता पनि आजसम्म सहमति हुन नसकेको हुँदा यो निवेदन पेश गरेको छु । मैले पाउनुपर्ने मितिसम्मको रकम निम्नानुसार रहेकोले उपलब्ध हुने व्यवस्थासहित निर्णय गराइपाऊँ ।’
कार्कीका अनुसार कम्पनीले उनलाई पारिश्रमिक र सेवासुविधाबापत १४ लाख २१ हजार ९२ रुपैयाँ दिन बाँकी छ । श्रम कार्यालयमा भोलि छलफलमा बोलाएको बताए । पारिश्रमिक दिलाउनका लागि नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सबैभन्दा कान्छो संगठन बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) ले पहल गरिरहेको पनि उनले जानकारी दिए । भन्छन्,‘भोलि छलफलमा बोलाइएको छ । भोलिको बैठकबाट पारिश्रमिक तथा सेवासुविधा पाउने अपेक्षा छ । ओम्सले मलाई सहयोग गरिरहेको छ ।
यता, ओम्सका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले सलमानले आज भुक्तानी पाउने दाबी गरेका छन् । उनले भने, ‘कम्पनीसँग हिजो भएको सहमतिअनुसार आज उनलाई माग गरिएको रकमको आधा अर्थात् सात लाख रुपैयाँ भुक्तानी हुन्छ । त्यसपछि श्रममा हालिएको निवेदन फिर्ता गरिने छ ।’
टिप्पणीहरू