एमाले बैठक शुरु, माओवादीको केहीबेरमा

एमाले बैठक शुरु, माओवादीको केहीबेरमा
सुन्नुहोस्

सत्तारुढ नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । सरकारको नेतृत्व गरेपश्चात पहिलोपल्ट बस्न लागेको बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा केही बेरअघिदेखि शुरु भएको हो । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिबारे ब्रिफिङ्ग गर्नुका साथै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । प्रतिवेदनउपर बोल्न केन्द्रीय सदस्यहरुलाई तीनदेखि पाँच मिनेट समय उपलब्ध गराइने छ ।  

बैठकमा ३५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारैवटा आयोगका प्रमुख सहभागी छन् ।  

उता प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पनि शुरु हुन लागेको छ । धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बस्ने बैठकमा नेताहरु पुग्नेक्रम जारी छ । 

बैठकको उद्धघाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामायीक राजनीतिक घटनाक्रमबारे मन्तव्य दिनुहुनेछ । त्यसपछि ‘पार्टी रूपान्तरण र पुननिर्माणको संकल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रविवेदन प्रस्तुत गरिनेछ।

तीन दिनसम्म चल्ने बैठकमा पार्टीको आगामी कार्यदिशा, सांगठिनक स्वरुप, कार्यविभाजनलगायतका विषयमा छलफल हुनेछ ।

टिप्पणीहरू