पूर्वका माओवादीहरुको निचोड : उपनिर्वाचनको परिणामपछि भुईंमा खुट्टा रहेन
उपनिर्वाचनको परिणामपछि उत्साहित भएर भुईंमा खुट्टा छोड्न खोजिएको भन्दै कोशी प्रदेशका माओवादी नेताहरुले केन्द्रीय समिति बैठकमा केन्द्रीय नेताहरुको ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा हिजोदेखि शुरु भएको बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्साले रिपोर्टिङ गर्दै उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट र धेरै उत्साहित हुने अवस्था नरहेको जनाएका हुन् ।
‘केही जिल्लाहरुमा नेतृत्व केन्द्रीकरण र एकरुपतामा समस्या छ । उपनिर्वाचनमा नेतृत्वबीच एकता र केन्द्रीकरण भएको जिल्लामा विजय हासिल भएको छ भने नेतृत्वबीच एकता र केन्द्रीकरण नभएको जिल्लामा परिणाम हात पार्न सकिएन,’ रिपोर्टिङ गर्दै उनले भने, ‘त्यसकारण उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट हुने र धेरै उत्साहित हुने अवस्था छैन ।’
उनले उपनिर्वाचनमा मतको हिसाबले प्रदेशमा आफ्नो पार्टी पहिलो बनेको उल्लेख गर्दै मोरङ ग्रमथान गाउँपालिका, उदयपुरको त्रियुगा–१२ र बेलका–९ मा विजयी भएको, सुनसरीको गढी–६, ताप्लेजुङको सिरिजङ्गा–३ मा सन्तोसजनक मतसहित दोस्रो र झापाको कन्काई–६ मा चौथो भएको उल्लेख गरे । त्यसैगरी तेह्रथुमको लालिगुराँस–८ मा २६ भोट र मोलुङ–५ ओखलढुङ्गामा २३ भोट मात्र प्राप्त गर्नुले जिम्मेवारी लिएका नेतृत्वको लापरबाही र पार्टीको कमजोर अवस्था उजागर भएको उनको निचोड छ ।
‘आगामी निर्वाचनको तयारीमा जुट्नु पर्छ । उप–निर्वाचनको परिणामले उत्साहित भई फेरि भुईंमा खुट्टा छोड्न खोजिएको छ । यसले जमिनमा बजारिने जोखिम छ । त्यसकारण पार्टी निर्माणमा मसिनो गरी लानुपर्छ,’ उनले अगाडि भने, ‘सही नेतृत्व विन्यास, पदाधिकारी, स्थायी समिति र केन्द्रको पुनःसंरचना, बेरोजगार नेतृत्वको कार्यक्षेत्र र योजना ठोस गरिनु पर्छ । आगामी निर्वाचनको एजेण्डामा होश पुर्याउनु पर्छ ।’
उनले कार्यतालिकासहित महाधिवेशन वा विशेष महाधिवेशन तय गर्नुपर्ने उल्लेख गरे । एक पटकको लागि केन्द्र्र, प्रदेश र पालिकाको अधिवेशनको कार्य तालिका ल्याउनुपर्नेमा पनि जोड दिएका छन् । ‘विधान अनुसार माथिल्लो कमिटी सानो बन्ने तर, तल्लो कमिटीमा कोही बस्न नमान्ने र जिल्ला कमिटी कार्यकारी नहुँदा, केन्द्रीय समिति र प्रदेश समिति सानो बन्दा वर्तमान ठूला कमिटीको नेतृत्व व्यवस्थापनमा चुनौती भएकोले व्यवस्थापनको हिसाबले पनि अधिवेशनको कार्यतालिका जरुरी छ,’ उनले भने ।
अवसर र उमेर हद, कार्यरतको व्यवस्थापनसहितको उत्पादन नीति, पूर्णकालीन र अल्पकालीन कार्यकर्ताको मापदण्ड, नेतृत्वहरुको सम्पत्ति सार्वजनिकीकरणको ठोस कार्यविधि निर्माण गरी लागू गरिनुपर्ने, सदस्यता र लेबिबारे पुनर्विचार गरिनुपर्ने, लेबि नलिने वा स्वेच्छिक सम्बन्धित कमिटीले मात्र लिने, सदस्यता नवीकरण शुल्क मात्र लिएर नवीकरण गरिनुपर्ने, विधान अनुसार सदस्यता वितरण, अभिलेखलगायतको सम्पूर्ण अधिकार प्रदेशलाई दिनुपर्ने उनको माग छ । नेतृत्व विकास र विन्यासमा कोशी प्रदेशले हालसम्म अन्याय महशुस गरिरहेको पनि उनले बताए । भ्रष्टाचारकोविरुद्ध सुशासनको राजनीतिक एजेण्डासहित सडक र सदनबाट गर्ने जनसंघर्षको ठोस योजना बनाउनु पर्नेमा पूर्वका माओवादीहरुको जोड छ ।
टिप्पणीहरू