खोयाको बेवास्तापछि रवि अहिलेको हालतमा पुगेको मुकुलको खुलासा

खोयाको बेवास्तापछि रवि अहिलेको हालतमा पुगेको मुकुलको खुलासा
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निश्कासित डा. मुकुल ढकालले आफूले चाहे पार्टी फुटाइदिनसक्ने दाबी गरेका छन् । आफ्नो निर्देशनमा चार जना सांसदले पार्टी फुटाउन सक्ने उनको ठोकुवा छ ।  

सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा जानसक्ने आकलन भइरहँदा हालै एउटा पडकास्टमा ढकालले रास्वपामा चलिरहेको आन्तरिक गतिविधिको समीक्षा गर्दै उक्त जानकारी दिएका हुन् । रास्वपाका अधिकांश नेताहरु अझै पनि लामिछानेका गैरकानुनी गतिविधिबारे जानकार नरहेको र हल्लाको भरमा ‘प्रतिशोध’ भन्दै हिँडेको उनको जिकिर छ । 

पछिल्लो समय त्यस्ता थुप्रै नेताहरु आफ्नो विचारमा सहमत हुँदै गएको दाबी गर्दै उनले भने, ‘चार जना सांसदले पार्टी फुट्छ, मसँग त्यति सांसद हुनुहुन्छ । मैले यदि ती सांसदलाई सँगै राखेर पत्रकार सम्मेलन गरे भने कि पार्टी विभाजन हुन्छ, कि मलाई फर्काउनुपर्ने हुन्छ ।’

तर, आफैँले बनाएको पार्टी रास्वपा फुटाउने योजना नरहेको उनले बताए । भन्छन्, ‘म त अगाडिबाट हान्ने मान्छे हो, जे हो सिधा भन्ने, षड्यन्त्र गर्न, गुट बनाउन मलाई आउँदैन, किनकि मलाई पार्टीको माया छ ।’

पोखरामा सभापति लामिछानेमाथि खोया प्रहारपछि रास्वपामाथि संकट शुरु भएको पनि ढकालले खुलाएका छन् । ‘गत वर्ष पुष २७ गते उहाँ (रवि)माथि खोया हानियो । त्यसैदिन साँझ मैले उहाँलाई यो खोयाले पार्टीलाई सकाउँछ, सिरियस रुपमा लिनुपर्छ भनेर सुझाएको थिएँ । तर, उहाँले हैन हैन केही हुँदैन, सबै मिलिहाल्छ भनेर हल्का रुपमा लिनुभयो’, उनले सुनाए । 

त्यसपछि पनि पार्टीका बैठकहरुमा सहकारीको विषय उठेको तर लामिछानेले ‘सबै कुरा मिलिसक्यो, मैले केही गरेकै छैन’ भनी जिद्दी गरेको ढकालले बताएका छन् । केही दिनअघि पार्टीका नेताहरुसँग भएको फोन संवादमा यसबारे चर्चा भएको पनि उनले जनाए । 

‘तपाईंलाई उतिबेलै थाहा रहेछ, हामीलाई किन नभनेको ? भनेर साथीहरु सोध्छन्’, ढकालले भने, ‘मैले के भन्नु, उतिबेला भनेकै हो, पत्याएनन् । उल्टै ममाथि आक्रमण र प्रहारको काम भयो ।’

टिप्पणीहरू